इटहरी : कोशी प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । मङ्सिर ४ को निर्वाचन पछि गठन भएको नयाँ सरकारले गरेको कामको विवरण मङ्गलवार सार्वजनिक गरिएको हो ।

यस दिनको अवधि अत्यन्तै कम भएको बताउँदै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार हरेक क्षण प्रगतिको बाटोमा रहेका बताए । मन्त्रालयको सङ्ख्या १३ बाट घटाएर ९ बनाइएको उपलब्धिको पहिलो बुँदामा उल्लेख गरिएको छ । त्यस्तै प्रदेशको नामकरण र सहिद परिवारलाई प्रति परिवार १ लाखका दरले १४ करोड ५० लाख वितरण गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

आगलागी पीडित परिवारलाई २५ लाख ४० हजार र मृतक परिवारलाई ९ लाख वितरण गरिएको छ । विपद् प्रभावित निजी आवास तथा पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रमको लागि विभिन्न जिल्लामा १ करोड ५३ लाख ९० हजार वितरण गरिएको बताइएको छ । विभिन्न मन्त्रालय तथा आयोगको २५ प्रतिशत खर्च कटौती गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

प्रदेशमा किसानलाई ४०७ मेट्रिक टन प्राङ्गारिक मल किसानलाई उपलब्ध गराउने देखी व्यावसायिक रूपमा दूध उत्पादन गर्ने १६ हजार ९५ जना किसानलाई एक करोड १७ लाख अनुदान उपलब्ध गराएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

८ लाख ३० हजार ६१० जनालाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउन सफल भएको उल्लेख गरिएको छ । ११६ किलोमिटर सडक कालोपत्रे भएको, ३ वटा झोलुङ्गे पुल निर्माण भएको, १५ वटा पुल निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको कार्कीले प्रस्ट पारे ।

प्रदेशसभाबाट दुई वटा विधेयक पास भएको, चार वटा विधेयकलाई प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको र चार वटा नियमावली स्वीकृत गरेको उनको भनाइ छ ।