धरान  : कोशी प्रदेश नामाङ्कन खारेजी, पूनः नामकरण आन्दोलनका सहिद पदमकुमार लिम्बु लाजेहाङ मृत्यु भएको २९ पछि वैशाख ९ गतेका दिन उनको शवलाई अन्त्येष्टि गरिने भएको छ ।

प्रदेश नं. १ पूनः नामकरण संयुक्त सङ्घर्ष समितिले लाजेहाङको परिवारजनसँग समान्वय गरी सम्मानपूर्वक अन्त्येष्टि गर्ने निर्णय गरेको हो । लाजेहाङ नेपालमा सङ्घीयता आएपछि पहिचानवादी आन्दोलनका पहिलो सहिद भएको समितिको वक्तव्यमा उल्लेख छ ।

धरानमा वैशाख ९ गते शनिवार बिहान उनको पार्थिक शरीरमा श्रद्धाञ्जली अर्पण गरिने छ । शवयात्रा इटहरी पुगेपछि त्यहाँ पनि श्रद्धाञ्जली अर्पण गरिने छ ।

शवयात्रा दिउँसो विराटनगर पुगेर घटनास्थल रोडशेष चौकमा श्रद्धाञ्जली सभा गरिनेछ। चैत ५ गते रोडशेष चौकमा भएको वृहत प्रदर्शनमा प्रहरीको अश्रुग्यास, लाठी प्रहारबाट लाजेहाङ घाइते भएका थिए ।

श्रद्धाञ्जली सभापछि उनको शव सहित शवयात्राले प्रदेश सभा भवन परिक्रमा गरेपछि दिउँसो लाजेहाङको घर बेलबारीमा अन्तिम दाहासंस्कार गरिने संयुक्त सङ्घर्ष समितिको वक्तव्यमा जनाइएको छ ।

चैत ५ गते विराटनगर प्रदर्शनमा घाइते भएका लाजेहाङलाई चैत ९ गते बेहोस भएको अवस्थामा बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको थियो । चैत १० गते बेहोस अवस्थामा नै उनको निधन भएको हो । उनको शव प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

४२ वर्षीय लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । लाजेहाङ छत्रबहादुर लिम्बुका छोरा हुन्। उनी २०५२ देखी लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।

letter