धरान : महांकाल शनि मन्दिरका पुजारी विश्वदेव पोखरेल 'कागबाबा'को क्रियाकलाप र व्यवहार धार्मिक स्थलका पुजारीको जस्तो नभएको तर वृद्धावास्थाका कारण उनलाई नहटाइएको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।

तर पत्रकार सम्मेलन गरेर सञ्चालक समिति र पदाधिकारी माथि नै गलत आक्षेप लगाउने काम गरेको, उनैले हालेको मुद्दामा सुनसरी जिल्ला अदालतले उनलाई मन्दिरबाट हट्न भनी गरेको फैसला कार्यान्वयन भने जरुरी भएको सञ्चालक समितिले जनाएको छ ।

मन्दिरको पुजारीबाट आफूलाई हटाउन लागेको भन्दै विश्वदेव पोखरेल 'कागबाबा'ले वृद्ध अवस्थामा दुःख दिएको भन्दै न्यायको मागगरी मङ्गलवार पत्रकार सम्मेलन गरेका थिए । उनको भनाइहरू निराधार रहेको भन्दै आज बुधवार मन्दिर सञ्चालक समितिले पनि पत्रकार सम्मेलन गर्दै कागबाबाको क्रियाकलाप र व्यवहार मन्दिरका पुजारीको जस्तो नभएको प्रत्यारोप लगाएको हो ।

सञ्चालक समितिका उपाध्यक्ष जुद्ध लोहनीले कागबाबाले मन्दिरमा जातीय छुवाछुतको व्यवहार गरेको आरोप लगाए । पोखरेलले ‘जुन जातीले जे काम गरेको हो त्यो जातीले त्यै काम गर्नु पर्छ’ भनेर आफूलाई सञ्चालक समितिमा बस्न नहुने समेत भनेको लोहनीले बताए ।

उनले यस्तै व्यवहारले पोखरेल पुजारी रहेमा शनि मन्दिरमा जति विभेद गरी दलित जातिलाई मन्दिर पस्न र पूजा गर्न नपाउने विभेदकोे नियम लगाउने सम्भावना बढेको बताए ।

पोखरेलले मन्दिरमा गलत क्रियाकलाप गरेकोमा पटक-पटक विवाद भएको बताउँदै अहिले सामाजिक सद्भाव विथोल्ने कुरा गर्न थालेको उनले बाउँदै भने ‘उनको क्रियाकलाप, व्यवहार मन्दिरका पुजारी जस्तो भएन ।’

सञ्चालक समिति सदस्य चन्द्र नेपालले भने ‘कागबाबाले भने जस्तो मन्दिर निर्माणकाल देखीका उनी पुजारी होइनन् ।’ पछि आएका हुन, धरानमा उनलाई चिन्ने थुप्रै मानिस भएको उनले बताए ।

गलत क्रियाकलापलाई नियन्त्रण गर्न खोज्दा पोखरेलले उल्टै सञ्चालक समिति विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको, सुनसरी जिल्ला अदालतमा मुद्धा हालेको तर अन्तमा आफै गलत साबित भई हारेको बताए ।

उनले भने ‘तैपनि बुढा भएका मानिस भनेर हामीले उनलाई मन्दिरबाट लखेटेनौं ।’ मन्दिरमा भित्र चढाइने भेटी, दान पेटिकाको रकम समेत उनलै लैजाने गरेको छुट दिँदा दिँदै पनि पोखरेलले मन्दिरै कब्जा गर्ने व्यवहार गरेको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा सञ्चालक समिति अध्यक्ष राजकुमार निरौला सहित सञ्चालक समितिका सदस्यहरू उपस्थित थिए ।

हिजो पत्रकार सम्मेलन गर्दै कागबाबा विश्वदेव पोखरेलले २०५८ सालमा शनिदेव मन्दिर सञ्चालक समिति गठन भएपनि नाम मात्रैको थियो काम केही नगरेको बताएका थिए । उनले भनेका थिए ‘जब मैले २०६८ सालबाट मन्दिरको भौतिक विकास निर्माणमा सहयोग जुटाएर हराभरा बनाउन थाले पछि समितिको ध्यान मन्दिर तर्फ मोडिएको हो ।’

२०७२ सालमा समितिले मन्दिरका स्वयं सेवक सेविकाहरूलाई अनावश्यक लाञ्छना लगाई हुलहुज्जत, कुटपिट गरी निकाल्न खोजिएको उनले बताउँदै भनेका थिए ‘तर मन्दिरको सेवामा निरन्तर लागिरहँदै आएको छु र रहन्छु ।’