झापा : सुत्केरीको मृत्यु भएपछि आज झापाको दमकस्थित ॐ मेची अस्पताल तनावग्रस्त बन्न पुग्यो । मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्ने माग राख्दै अस्पताल प्रशासन घेराउ गरेपछि अस्पताल क्षेत्र तनावग्रस्त बन्न पुग्यो ।

गत वैशाख ४ गते सुत्केरी व्यथा लागेर दमकस्थित ओम मेची अस्पताल पुर्‍याएकी दमक नगरपालिका १ की ३० वर्षीय रुबी शाहको शल्यक्रिया पछि बच्चा निकालियो ।

यसअघि नर्मल डेलिभरी भएको भए पनि चिकित्सकको सल्लाह बमोजिम आफूहरू शल्यक्रियाका लागि राजी भएको मृतक रुबीका श्रीमान् मनोज शाहले बताए । शल्यक्रिया पश्चात् पनि बिरामीको प्रेसर बढ्दै गएपछि उपचार संलग्नले बिरामीलाई प्रेसर घट्ने औषधि खुवाएको मृतकका श्रीमानले जानकारी दिए ।

तरपनि बिरामीको अवस्था उस्तै रहेपछि अन्तिम अवस्थामा मात्रै अस्पतालले अन्यत्रै लैजान भन्यो । तर, थप उपचारका लागि बिर्तामोडस्थित एक अस्पताल पुर्‍याउने बित्तिकै रबीको यस अघि नै मृत्यु भएको भनी सो अस्पतालले घोषणा गरिदिएको मृतकका श्रीमान् मनोज शाहको भनाइ छ ।

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्त तथा छिमेकीहरू बुधवार दमकस्थित ॐ मेची अस्पताल पुगेका थिए । तर, यस विषयमा छलफल हुनै नपाई अस्पतालमा नाराबाजी भयो र अस्पतालमा सामान्य तोडफोडको प्रयास समेत भयो । त्यसपछि पनि छलफलको वातावरण तयार हुँदै गर्दा अचानक माहौल बिग्रियो । जहाँ प्रहरीले त्यहाँ भेला भएकाहरूलाई हातपात नै गर्न पुगे ।

सञ्चारकर्मीहरूमाथि प्रहरीको दुर्व्यवहार

अवस्था सामान्यीकरण गर्न अस्पतालमा मृतकका परिबार र अस्पताल प्रशासन बिच छलफल चलिरहेका बेला सो छलफलको दृश्य कैद गर्न र छलफलको विषयबारे समाचार सङ्कलन गर्न पुगेका दमकका सञ्चारकर्मीहरूमाथि प्रहरीले दुर्व्यवहार गर्न पुग्यो ।

हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारी, नयाँ पत्रिका दैनिकका झापा संवाददाता चिरञ्जीवी घिमिरे र गोरखापत्र दैनिकका पत्रकार विष्णु पोखरेललाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले गेटमै रोक्दै व्यक्ति पिच्छेका मिडिया जान मिल्दैन भन्दै दुब्र्यबहार गरेको छ । पत्रकार माथि भएको दुब्र्यबहारको विषयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले गल्ती भएको स्वीकार गर्दै आइँदा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

यसैबिच, घटनापछि दमक नगरपालिकाका प्रमुख रामकुमार थापा सहित केही सञ्चालकहरू र मृतकका आफन्त सम्मिलित टोलीबिच छलफल भएको थियो । उक्त छलफलपछि दमकका मेयर रामकुमार थापाले सीमित व्यक्तिहरू बसेर पुनः छलफल गर्ने बताएपछि उक्त छलफलमा पुन: पत्रकारहरूलाई जान निषेध गरियो । छलफलपछि के निष्कर्ष आयो भन्ने विषयमा यो समाचार तयार पार्दासम्म न त अस्पताल प्रशासनले कुनै जानकारी गराएको छ न त छलफलमा सहभागी नगरप्रमुखले नै ।