धरान : कोशी प्रदेश नाम खारेजी पूनः नामाङ्कनको पहिचानवादी आन्दोलनका सहिद पदम लिम्बू लाजेहाङको परिवारलाई सरकारी बाहेक समुदायको तर्फबाट आर्थिक सहयोग रकम जुट्ने क्रम जारी छ ।

हङकङमा रहेको प्रदेश १ पहिचानी नाम सङ्घर्ष समितिबाट आज शुक्रवार धरानमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा ५ लाख ११ हजार ५८५ रुपैंयाको चेक सहितकी आमा धनमाया लिम्बुलाई हस्तान्तरण गरिएको छ ।

उक्त सहयोग रकम सङ्घर्ष समिति हङकङका संयोजक विनोद सुच्चा राईको नेतृत्वमा हङकङका नेपालीहरूबाट सङ्कलन गरिएको हो । पत्रकार महासङ्घ सुनसरीको सभाहलमा उक्त रकमको चेक किरात राई यायोक्खा, सुनसरी मार्फत हस्तान्तरण गरिएको हो ।

यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, सुच्चा कल्याणकारी सेवा समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चाले चेक हस्तान्तरण गरेका हुन् । पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईको सभापतित्वमा कार्यक्रम भएको थियो ।

सहिद लाजेहाङकी बहिनी पवित्रा सुब्बाले कोशी प्रदेश खारेज गरेर सरकारले पहिचानको आधारमा नामाकरण गरेमात्र आफ्नो दाजुको आत्माले शान्ति पाउने बताइन् । उनले पहिचान सहितको नामाङ्कनकै लागि अव कसैले सहित बन्नु पर्ने अवस्था आउन नहुने बताउँदै भनिन् ‘पहिचानवादीहरूको माग सरकारले अविलम्ब पुरा गर्नुपर्छ ।’

यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले पहिचानको आधारमा प्रदेशको नामाकरण नभए आन्दोलन अरू बढ्ने बताउँदै अब पनि अरू लाजेहाङले ज्यान गुमाउनु पर्ने अवस्था नआओस भन्दै सरकारलाई अविलम्ब पहिचानवादीहरूको माग पुरा गर्न माग गरे ।