धरान : एक सहकारी संस्थाको नगद राखिएको सेफ फोडेर डकैती गर्ने ४ जनाको समूहलाई घटना भएको महिना दिन पछि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङको ग्रामथान गाउँपालिका-५ का ४० वर्षीय दिलीप कुमार चौधरी, २८ वर्षीय ईरज धामी, सर्लाही लालबन्दी-२ का ३५ वर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर-५ का २६ वर्षीय मिथिलेश महतो रहेको जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरले जनाएको छ ।
डाकाहरुको उक्त समूहले गएको चैत २ गते राती मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ढोका फोडी फलामको सेफमा राखेको नगद ७ लाख ७७ हजार १८ रुपैयाँ चोरी गरेका थिए ।
रकम चोरी भएको जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोली डाकाहरुको खोज तलासमा लागेका थिए । यसै क्रममा उनीहरूलाई सर्लाहीको विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई मोरङ जिल्ला अदालतको आदेशले तीन जनालाई पुर्पक्षको लागि बिहीबार कारागार पठाइएको छ। मिथिलेश महतो २ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।