विराटनगर : विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । 
सहकारीहरूले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारण सभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ ।
खारेजीमा पर्नेमा विराटनगर-२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था ली., विराटनगर-४ को पुष्पाञ्जली बहूद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरिएको छ ।
त्यस्तै विराटनगर-९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहूद्देश्यीय सहकारी संस्था लिमिटेड पनि खारेजीमा परेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार विराटनगर-१२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, १४ को गरिमा बचत तथा ऋण सहकारी, १४ को बहुमूल्य कृषि सहकारी र १५ को ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको पनि दर्ता गरिए भएको छ ।
उक्त सहकारीलाई लेखा परीक्षणसहित आवश्यक कागजातसहित महानगरमा सम्पर्कमा आउन गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । पटक-पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि महानगरले खारेजी गरेको कोइरालाले जानकारी दिए ।