धरान : प्रथम नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३० औँ स्मृति दिवस आइतबार काठमान्डुमा मनाइएको छ ।

पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुन । उनले २०५०  वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनले चौथौँ पटकमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कने क्रममा उनको निधन भएको थियो ।

चुच्चेपाटी स्थित पासाङ ल्हामु शेर्पाको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै उनको स्मृति दिवस मनाइएको हो । उक्त अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्ष छोरी दावा फुटी शेर्पाले सालिकमा माल्यार्पण गरेकी थिइन् ।

उनले स्मृति दिवसले नेपाली महिलाहरूलाई साहसिक कार्यमा अघि बढ्ने सङ्कल्पको दिन भएको बताउँदै भनिन् ‘संसारभरका महिलाका लागि पासाङ ल्हामु प्रेरणाको श्रोत बन्नु भएको छ ।’

फाउन्डेसनको तर्फबाट पनि हिमाल आरोहणको चाहना राख्ने महिलालाई आवश्यक सहयोग गरिरहेको र राज्यले पनि यस्ता सहयोगका कार्यमा थप अग्रसरता देखाउन आवश्यक रहेको उनले बताइन् । आङ फुटीले सरकारसँग देशका हिमाल आरोहीलाई सम्मान गर्नुपर्ने माग गरिन् ।

प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष लाक्पा फुटी शेर्पाले पासाङ ल्हामु शेर्पाका सपनाहरू आज आएर साकार भइरहेको देख्न पाउँदा खुसी लागेको बताइन । पासाङ ल्हामु शेर्पाले देशका लागि केही गर्छु भन्ने चाहना, आत्मविश्वासले आजका महिलाहरूमा चुनौतीपूर्ण कार्य गर्न प्रेरणा प्राप्त भइरहेको उनको भनाई थियो ।

पूर्वमन्त्री कृपाशुर शेर्पाले पासाङ ल्हामु शेर्पाको स्मृति दिवस इज्जत, प्रतिष्ठा र गौरवको रूपमा मनाइएको बताए । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले पासाङल्हामु शेर्पाको कदरका लागि गाउँपालिकामा सङ्ग्रहालय बनाउन लागेको बताए ।