धरान : धरानको खानेपानी समस्या समाधान गर्न राजनीतिक दलहरूको प्रतिनिधि मण्डलले ‘बहुउद्देश्यीय आयोजना’ सङ्घीय राजधानी काठमाण्डूको सिंहदवारमा पुर्‍याएका छन् ।

प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेटेर धरान-तमोर सुरुङ मार्गलाई ‘बहुउद्देश्यीय आयोजना’को रूपमा विकास गर्न यसपालिको राष्ट्रिय बजेटमा रकम विनियोजन गर्न माग गरेका हुन् ।

सिंहदरवार स्थित अर्थ मन्त्रालयमा मन्त्री महतसँग धरानका पूर्व मेयर तिलक राई भने ‘धरानको विषयमा अहिले जे जस्ता कुराहरू बाहिर आएका छन् ती सस्तो लोकप्रियताका लागि मात्र आएका हुन्’ धरानको खानेपानी दीर्घकालीन रूपमा समाधान गर्न अहिले अध्ययन भई रहेको धरान लेउती सुरुङमार्ग लाई बहुउद्देश्यीय आयोजनाको रूपमा विकास गर्न आवश्यक छ ।’

माओवादी नेता चोत्लुङले सुरुङ मार्गको बहुउद्देश्यीय आयोजना यातायात, खानेपानी, सिचाई तथा जल पर्यटनका लागि समेत उपयुक्त हुने र यसबाट धरान लगायत यसक्षेत्रको विकासमा युगान्तकारी परिवर्तन ल्याउन बताए ।

अर्थमन्त्री डा. महतले धरानको समस्यालाई आफुले गहिरोगरि बुझेको बताए । यो बहुउद्देश्यीय आयोजनाका विषयमा आफु सकारात्मक भएको बताउँदै यसका लागि बैदेशीक लगानी ल्याउन पनि आफै लागिपर्ने बचन दिएका छन् ।

मन्त्री महतले धरानका लागि राजनैतिक दलहरूले सयुक्त रुपमा ल्याएको योजनाहरूलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खानेपानी बाहेकका अन्य योजनामा प्राथमिकता हेरेर बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।

अर्थमन्त्री सँगको छलफलमा नेकपा एमालेका नेताहरू मिन सुब्बा, नारायण प्रसाद सुबेदी, एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ, नेपाली काँग्रेसका नेताहरू तिलक राई, उमेश थापा प्रदेश सभा सदस्य, ममता तामाङ र काँग्रेस नगर सभापती श्याम पोख्रेल थिए ।

साथै माओबादी केन्द्रका नेताहरू मुक्सामहाङ मेन्याङबो,नगर इन्चार्ज चोत्लुुङ सहित माओबादी केन्द्रका नगर अध्यक्ष तथा वडा १७ का वडाध्यक्ष मनोज भट्टराई, धरान १६ का वडाध्यक्ष मुरारी भट्टराई, धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान ११ का वडाध्यक्ष लोकेन्द्र कुमार फागो र धरान २० का वडाध्यक्ष पदमबहादुर लिम्बु लगायत सहभागी थिए ।