धरान : चितवन २ मा सम्पन्न उपनिर्वाचनको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत मङ्सिरमा सम्पन्न निर्वाचनमा आफैँले प्राप्त गरेकोभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् ।
मङ्सिरमा भएको मतदानमा उनी ४९,३०० मत ल्याएर निर्वाचित भएका थिए । नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार बनेका हुन् ।
उनी ५४,१७६ मत ल्याएर विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारभन्दा झन्डै ४३,००० मतको अन्तरले विजयी भएका हुन् ।
काँग्रेस र एमालेका उम्मेदवारहरूले मत मङ्सिरको निर्वाचनमा भन्दा कम मत पाएका छन् ।
अघिल्लो निर्वाचनमा काँग्रेस र एमालेका उम्मेदवारहरूले १४,००० मत कटाएका थिए । अघिल्लो निर्वाचनमा लामिछाने ३५,००० को मतान्तरले विजयी भएका थिए ।आइतबार उपनिर्वाचन भएको तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन् भने बारा(२ मा मतगणना मङ्गलवार पनि जारी छ ।