धरान : स्थानिय सरकार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ र वडा अध्यक्षहरू बिच विद्यमान विवादले धरानको विकास, निर्माण र उद्योग, व्यवसायमा पनि असर पर्ने भएकोमा सुनसरी उद्योग वाणिज्य सङ्घले चिन्ता प्रकट गरेको छ ।

सङ्घले आज वक्तव्य जारी गर्दै चिन्ता प्रकट गरेको हो । वक्तव्यमा उपमहानगरको विकासका लागि बजेट र नीति तथा कार्यक्रम बनाउनु पर्ने महत्त्वपूर्ण समयमा बैठक नै बस्न नसकेको खबरले उद्योग/व्यवसायीहरूको छाता सङ्गठन सुनसरी उद्योग वाणिज्य सङ्घ दुःखी भएको उल्लेख छ ।

अहिलेको प्रतिकुल परिस्थितिमा उद्योग/व्यवसायीहरूलाई उद्योग, व्यवसाय सुचारु रूपले सञ्चालनका लागि संरक्षण र संवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको अवस्थामा स्थानिय सरकारको रूपमा रहेको धरान उपमहानगरपालिका भित्रको आन्तरिक खिचातानीको घट्नाप्रति वक्तव्यमा चिन्ता प्रकट गरिएको छ ।

सङ्घका अध्यक्ष विजय श्रेष्ठको हस्ताक्षरमा जारी वक्तव्यमा दुवै पक्षले लचकता देखाई वार्ता र संवादको माध्यमबाट समस्या समाधानमा लाग्न सुझाव दिँदै एक आपसको दम्भ त्यागी विधि, प्रक्रिया बमोजिम अघि बढ्न अनुरोध गरिएको छ ।

FNCCI-letter-dharan