वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक विद्यालयले १० वर्षदेखि बिग्रिएर थन्किएको स्कुल बस मर्मत गरेर सञ्चालनमा ल्याएको छ । विद्यालयलाई २०६५ सालमा भारत सरकारले भारतीय स्वतन्त्रता दिवसको अवसरमा उपहार स्वरूप उक्त बस प्रदान गरेको थियो ।

विद्यालयले प्राप्त गरेको ४-५ वर्ष पछिनै उक्त बस २०७० सालदेखि बिग्रिएर विद्यालयमै थन्किएको थियो । तर बिग्रिएर थन्किएको १० वर्ष पछि उक्त बस मर्मत भएर पुरानै जस्तै बिद्यार्थीहरु बोक्ने अवस्थामा फर्किएको छ । विद्यालयका प्रधानाध्यापक चण्डिराज पोखरेलका अनुसार अब बसले बिद्यार्थीहरुलाई विद्यालय ल्याउने कार्यमा प्रयोग हुनेछ ।

भारत सरकारको सहयोगमा १५ वर्ष अगाडि विद्यालयलाई प्राप्त भएको बस थन्किएको थियो । तत्कालीन समयमा उच्च माध्यमिक शिक्षाका लागि भनेर प्राप्त भएको बस १० वर्षसम्म माकुराको जालो लागेर बसकै लागि बनाइएको टिनको छाप्रोको ग्यारेज भित्र थन्किएर बसेको थियो ।

barahchetra schoolbus1

साबिक महेन्द्रनगर गाबिसमा रहेको हाल वराहक्षेत्र नगरपालिकाको जेठो शैक्षिक संस्था मध्ये मानिएको उक्त विद्यालय २०२२ सालमा स्थापनमा भएको थियो । विद्यालयमा टाढा-टाढाका विद्यार्थीलाई आवत-जावतमा सहज होस भनेर बिभिन्न व्यक्तिको पहलबाट २०६५ सालमा भारतीय दुतावास मार्फत बस प्राप्त भएको थियो ।

बस केही समय सञ्चालनमा आयो तर पछि १० वर्षदेखि बस आर्थिक, प्राविधिक र ब्यस्थापन अभावको कारणले थन्किए बसेको थियो ।

को १ क १०८५ नम्बरको विद्यालयको बसले सुरुवाती केही वर्षहरूमा बिद्यार्थीहरुलाई परीक्षा केन्द्र सम्म पुर्‍याउने काम गरे पनि १० वर्षदेखि सञ्चालनमा आउन सकेको थियो । २ लाख ६ हजार खर्च गरेर मर्मत गरिएको उक्त बसको अब कागज पत्र नवीकरण गरे पछि यसै शैक्षिक सत्रदेखी सञ्चालनमा आउने प्रधानाध्यापक पोख्रेलले जानकारी दिए ।