इटहरी : लामो समयदेखि निर्माण कार्य रोकिएको इटहरीको तरहरादेखि धरानको सेउती पुलसम्मको सडकको काम तिन दिनभित्र सुरुगर्ने सहमति भएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको सक्रियतामा निर्माण कम्पनी, उपमहानगरपालिका र ६ लेन सडक आयोजनाबिच सहमति भएको हो । बुधवार मेयर पौडेलको कार्यकक्षमा भएको छलफलमा निर्माण कम्पनीले तत्काल तीन दिनभित्रमा काम सुरुगर्ने लिखित प्रतिबद्धता जनाएको छ ।

तरहरा देखी सेउतीपुल सम्म ५.३ किलोमिटर सडक पुरागर्न उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो । निर्माण कम्पनीले काम नगरेपछि मेयर पौडेलले गत शुक्रवार अनुगमन गर्ने सवारी साधन नियन्त्रणमा लिए । मेयर पौडेलले सडक निर्माण सुस्त हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको बताएका छन् ।

निर्माण कम्पनीका ठाकुर कँडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्नका लागि ल्याबको रिपोर्ट आउने बित्तिकै कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी दुई साता भित्र रिपोर्ट आउने र तबसम्म बाटोमा पानी हालेर धुलो हुनबाट रोक्ने बताए । इष्टमेटभन्दा ५० लाख बढीको पनि काम भएको बताउँदै उनले कोरोनापछिको आर्थिक समस्याले गर्दा पनि केही ढिलो हुन गएको प्रस्ट पारे ।

हिमदुङ थोकर एन्ड प्यासिफिक जेभीले ठेक्का लिएको सडक निर्माणको काम सुस्त भएपछि गुनासो बढ्दै गएको ६ लेन सडक आयोजनाका प्रमुख दानबहादुर शाक्यले बताए । उनका अनुसार एउटै समयमा सम्झौता भएको सेउती पुलदेखि तीनकुनेसम्म रौताहा कन्स्ट्रक्सनले काम अन्तिम चरणमा पुर्‍याएको छ ।

‘तरहरा देखी सेउतीसम्म निर्माण कम्पनीकै कारणले निर्माणमा ढिलाइ भएको हो,’ उनले भने, ‘निर्माण कम्पनीले इच्छाशक्ति देखाए तोकिएको समयमा काम पुरा हुनेछ । चाँडो काम सुरु गर्दा एक लाइन मात्र भएपनि कालोपत्रे गरेमा सहज हुनेछ ।’

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक  विस्तार हुन बाँकी छ । २०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा ६ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो ।

sadhak samvandhit letter