धरान : युवा अवस्थामा नै सुगर र प्रेसरका रोगी दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा धरान ६ पानवारीस्थित पानवारी सामुदायिक वन उपभोक्त समुहले स्वास्थ्य शिविर आयोजना गरेको छ ।

खानपान, शारिरिक व्यायामको अभाव, तनावलगायतको समस्याका कारण पछिल्लो समय युवा अवस्थादेखि नै स्वास्थ्य समस्या जटिल वन्दै गइरहेकाले सचेत रहन शिविरको आयोजना गरिएको हो ।

एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा २ सय ६० जना भन्दा वढीको निःशुल्क रूपमा स्वास्थ्य जाँच गरिएको थियो । विपी प्रतिष्ठानका न्युरो फिजिसियन डा.भूपेन्द्र साहका अनुसार शिविरमा आएका मध्ये अधिकाँस बिरामीहरू सुगर र प्रेसरका बिरामी थिए ।

डा.साहले भने-‘यो रोग सामान्य नै हो तर हेलचेक्राई र लापारवाहीका कारण जीवन र मरणको दोसाधमा पुग्न सकिन्छ, स्वस्थ्य जीवनका लागि खान पान, नियमित रूपमा शारिरिक व्यापाम, तनाव नियन्त्रण गर्नु आवश्यक छ ।’ चिकित्सकका अनुसार यस्तो स्वास्थ्य समस्या युवा उमेरमा नै देखिन थालेकाले पनि ग्रामिण भेगसम्म सचेतनाका लागि धरान उपमहानगरका हरेक वडामा वडास्तरीय सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आवश्यक रहेको डा.साह बताउँछन् ।

प्रतिष्ठानका चिकित्सकहरूले टिम नै तयार गरेर बिरामीको स्वास्थ्य उपचार गर्दै आएका छन् । त्यसका लागि स्ट्रोक(पक्षघात) टिम रहेको छ । समयमा नै उपचार स्वास्थ्य जाँच गरिएको खण्डमा बिरामीले अकालमा नै मृत्युवरण गर्नु पर्ने वा आजीवन पक्षघात हुनुबाट जोगिने चिकित्सकले बताएका छन् ।

dr alok1

स्वास्थ्य शिविरमा प्रतिष्ठानमा न्युरो फिजिसियन डा. भुपेन्द्र साह, न्युरो सर्जन डा.आलोक दाहाल, न्युरो साइक्रियाटिक्स डा.सञ्जी वकुमार मिश्र, जेनेरल फिजिसियन, फेलोसिप इन डायबिटिज डा.अजय यादव, वृद्ध-वृद्धा रोग विशेषज्ञ डा.उर्जा भट्टराई, डा.हर्षित अग्रवाल, डा.हरिसबहादुर मल्ललगायतको चिकित्सकद्वारा बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

वन समूहका उपभोक्ता एवम् ६ नम्बरकै वडावासीको स्वास्थ्यलाई मध्यनजर गरेरपानवारी सामुदायिक वन समुहले एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको वन समूहका अध्यक्ष भुपाल (कृष्ण कुमार) राईले बताए ।

उनले भने-‘वनले खाली घाँस दाउरा र काठ वितरण गर्ने मात्रै होइन, उपभोक्तको स्वास्थ्य पनि महत्त्व पूर्ण जीवनको धन हो, पहिलो पटक वन समूहको नेतत्व गरेर वडा स्तरमा नै पहिलो पटक प्रतिष्ठानका चिकित्सकहरूको विशेषज्ञ टोलीद्वारा स्वास्थ्य शिविर निःशुल्क रूपमा गरेको हो । वन समूहका अध्यक्ष भुपाल राईले आफूले पाउने मासिक पेट्रोल सुविधालाई स्वास्थ्य शिविरमा खर्च गरेको अध्यक्ष राईले जानकारी दिनु भयो ।