विराटनगर : विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्री वितरण र वध गर्न रोक लगाउने भएको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियान अन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताए । अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । विराटनगरमा सञ्चालित मासु व्यवसायीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो ।

स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको  मेयर कोइरालाले बताए। मेयर कोइरालाले महानगर सरसफाई, कर सङ्कलन, सडकबत्ती जडान, बिजुलीको पोलमा रंगरोगनसहित नम्बरिङ, पार्किङ लगायतका अभियान सञ्चालन गरिरहेको जानकारी दिएका छन् ।

उनले मानव स्वास्थ्य र महानगरको सौन्दर्यतामा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न आग्रह समेत गरेका छन् । उपमेयर शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई समेत तीव्र पारिने बताइन । उनले अस्वस्थ मासुको सेवनले विभिन्न रोग लाग्ने हुँदा उपभोक्ता स्वयम् जागरुक हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एकैपटक नभए पनि क्रमैसँग माछामासु व्यवसायलाई व्यवस्थित गर्दै लगिने बताए । शुक्रबारदेखि हाटबजार र चोकहरूमा खुल्ला रुपमा मासु बिक्रीवितरण गर्न रोक लगाएको उनले जानकारी दिए।

यसअघि हाटबजारमा खाट र टेवलमाथि राखेर खुल्ला रुपमा मासु बिक्री गर्ने गरिँदै आएको थियो । यस्तै भुइँमा समेत प्लाष्टिक ओछ्याएर मासु बिक्री गर्ने गरिएको छ । अबदेखि यसरी खुल्ला रुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन-२०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले  बताए ।

सङ्घीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा.गंगाराम यादवले अस्वच्छ मासुको सेवनको असर तुरुन्तै र दीर्घकालीनसम्म रहने बताए । उनले बध गरेपछि कम्तीमा १२ घन्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताए ।

त्यस्तै नेपाल सरकारका पूर्वसहसचिवसमेत रहेका भएका मासु विज्ञ डा.बोधप्रसाद पराजुलीले पशु वधशाला र मासु जाँच ऐन २०५५ का विषयमा जानकारी गराए ।

ऐनविपरीत मासु बिक्री गर्नेलाई कडा कारबाही हुने व्यवस्था गरिएको उनको भनाइ छ । विराटनगरमा करिब ३ सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिएका छन् ।

अन्तरिक्रयामा माछामासु व्यवसायीहरूले  महानगरको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरूले दर्ता गरेर व्यवसाय सञ्चालन गरे पनि हाटबजार र चोकहरूमा दर्ता बिनै मासु बिक्री गर्दा आफूहरू समस्यामा परेको गुनासो पोखेका थिए ।