धरान : हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो 'भोइस किड्स नेपाल'मा उत्कृष्ट २४ मा परेका वराहक्षेत्रका राजेश परियारलाई भोट गर्न विद्यालयले आर्थिक सङ्कलन गरेको छ।

राजेश अध्ययनरत हिमालयन इङ्लिस स्कुल चतराले उत्कृष्ट २४ मा पर्न सफल आफ्ना विद्यार्थीका लागि शिक्षक, विद्यार्थीबाट रकम सङ्कलन गरी परिवारलाई हस्तान्तरण गरेको छ । शुक्रवार राति ८ बजेसम्म खुल्ला गरिएको भोटिङका लागि विद्यालयले रकम सोझै परिवारलाई हस्तान्तरण गरेको हो ।

विद्यालयका प्रधानाध्यापक आलोक श्रेष्ठले राजेशका पिता जनक परियारलाई नगद १४ हजार रुपैयाँ बिहीबार हस्तान्तरण गरे । शुक्रवार प्रसारण हुने 'भोइस किड्स नेपाल'बाट उत्कृष्ट १६ छनोट हुनेछन् ।

राजेशलाई विजेता बनाउनका लागि विद्यालयबाटै अभियान सुरु गरिएको शिक्षक प्रदीप ठकुरीले जानकारी दिए । राजेश हिमालयन स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । हाल उनी रियालिटी शोका लागि काठमाडौँमा रहेका छन् । भोटिङ शुक्रवार साँझ ८ बजेसम्म भोट गर्ने समय खुल्ला रहेको छ ।

Voice-kids-baraha-2