धरान : नेपाल पत्रकार महासङ्घ सुनसरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबाट पत्रकारहरू सँग गरिने अमर्यादित व्यवहारप्रति आपत्ति जनाउँदै सच्याउन आग्रह गरेको छ ।
महासङ्घले शुक्रवार एक वक्तव्य जारी गर्दै वैशाख १४ गते कार्यपालिका बैठक बस्न नसकेको विषयमा समाचार सङ्कलन गर्न पुगेका पत्रकार खिलानाथ विश्वकर्मासँग गरिएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
मेयर साम्पाङसँग प्रश्न गर्दा ‘तपाईँ कुन पार्टीको पत्रकार’ भनेर सोधिनु आपत्तिजनक, प्रेस स्वतन्त्रता माथि नै प्रहार भएको जनाएको छ । पत्रकारहरू साथै मिडिया हाउसप्रति गरिने अमर्यादित  व्यवहार सच्याउन मेयर साम्पाङलाई आग्रह गरेको छ ।
मेयर जस्तो गरिमामय पदका व्यक्तिले सञ्चार क्षेत्रप्रति नकारात्मक सन्देश दिने गरेकाले सञ्चारकर्मी असुरक्षित हुनसक्ने अवस्था सिर्जना गर्ने कुरामा महासङ्घले चिन्ता प्रकट गरेको छ । 
मेयर साम्पाङको व्यवहार एवं कार्यशैलीले कुनै पनि बेला अप्रिय घटना निम्त्याउन सक्ने भन्दै त्यस्तो घटना भएमा ‘त्यसको जिम्मेवारी स्वयं उहाँ (मेयर साम्पाङ)ले लिनुपर्ने महासङ्घ जिल्ला शाखा प्रष्ट पार्न चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।
Patrakar letter 123