धरान  : नेपाल तामाङ महिला घेदुङ, धरान नगर समितिले विपन्न ३० जना विद्यार्थीहरूलाई स्कुल ब्याग र कापी वितरण गरेको छ ।

२५६७ औँ बुद्ध जयन्ती र नयाँ वर्ष २०८० सालको अवसरमा धरानको विभिन्न बस्तीमा रहेका विपन्न विद्यार्थीहरूलाई स्कुल ब्याग र कापी वितरण गरिएको हो ।

यस वर्षको सोनाम ल्होछार-२८५९ को अवसरमा घरघरमा ल्होछार खेलेर सङ्कलन गरेको रकमबाट वनभोज नखाएर धरानका विभिन्न बस्तीमा रहेका अति विपन्न विद्यार्थीहरूलाई शिक्षा आर्जन गर्नमा टेवा पुर्याउने उद्देश्यले स्कुल सामाग्री वितरण गरिएको महिला घेदुङका धरान नगर अध्यक्ष गङ्गा तामाङले बताए ।

नेपाल तामाङ महिला घेदुङ, धरानका अध्यक्ष गङ्गा तामाङको अध्यक्षता र सचिव तारादेवी तामाङको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, जिल्ला सचिव मङ्गलसिंह तामाङ, नगर उपाध्यक्ष सपन तामाङ, महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तान, धरान नगरका निवर्तमान अध्यक्ष प्रेम वाइबा, महिला घेदुङ धरानका उपाध्यक्ष गोमा गोले लगायतले मन्तव्य राखेका थिए।

वक्ताहरूले शैक्षिक सामाग्री वितरण जस्तो समाजपयोगी कार्यक्रम गरेको भन्दै आयोजकको उच्च प्रशंसा गरेका छन् । उनीहरूले नेपाल तामाङ घेदुङले तामाङ समुदायको समग्र स्तरोन्नतिका लागि शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।