वराहक्षेत्र : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)को कोकाह खोलाको पानी धरान लैजाने अभियान अन्तरगत वराहक्षेत्र नगरपालिकाको भू-भागमा हुँदै आइरहेको श्रमदान अभियानलाई दुई पालिका बिच लिखित सम्झौता भए पछि मात्र निरन्तरता दिने सहमति भएको छ ।

शनिवार जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको रोहवरमा दुई पालिकाका प्रमुख बिच भएको छलफलले ३ दिन भित्र दुई पालिका बिच लिखित सम्झौता गर्ने र त्यसपछि मात्र वराहक्षेत्रको भू-भागमा खानेपानीको पाइप बिछ्याउने काम गर्ने सहमति जुटेको हो ।

छलफलमा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दुई पालिका बिच लिखित सम्झौता भएपछि मात्र काम सुचारु गर्न आग्रह गरेका थिए । उनले दुई पालिका बिच वातावरणीय प्रभाव, धरानमा पानी सशुल्क वितरण भए वराहक्षेत्रलाई रोयल्टीको विषयमा दुई पालिका बिच सहमति हुनुपर्ने धारणा राखेका थिए ।

सामाजिक सञ्जालमा वराहक्षेत्र नगरपालिकालाई लगाएको आरोप र वराहक्षेत्र नगरपालिको अमाहा सिमसारलाई धरानले 'हाम्रो तिर पर्छ' भन्ने अभिव्यक्तिको नगर प्रमुख कार्कीले खण्डन समेत गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ ओम भट्टराई, धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघा, वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला, वराहक्षेत्रका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको छलफलमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले वराहक्षेत्र नगरपालिकाको माग सबै सकारात्मक रहेकाले पूरा गर्न तयार रहेको बताए ।

वातावरणीय प्रभावको विषय र रोयल्टीको विषयमा दुई पालिका बिच लिखित सहमति भएपछि मात्र वराहक्षेत्रको भूभागमा श्रमदान गर्न सहमत भएको धरानका मेयर साम्पाङले बताए ।

सामाजिक सञ्जालमा वराहक्षेत्रको विषयमा भएको टीका टिप्पणी प्रति दु:ख लागेको बताउँदै साम्पाङले त्यसो नगर्न समर्थकहरूलाई अनुरोध समेत गरेका थिए ।

वराहक्षेत्रको अमाह धरानमा पर्छ भन्ने धारणा उपमहानगरपालिको आधिकारिक धारणा नभएको समेत साम्पाङले स्पष्ट पारेका थिए । धरानले अमाहामा कुनै दाबी समेत नगरेको उनले छलफलमा बताएका थिए ।

छलफलमा खानेपानीको विषयमा दुई पालिका बिच संस्थागत निर्णय गर्न पालिका प्रमुखको नेतृत्वमा दुई दुई जना सदस्य रहेको समितिले जिल्ला समन्वय समितिका सभापतिको रोहबरमा लिखित सम्झौता गर्न सहमति भएको छ ।

harka-agreement-baraha