धरान : महिलासँग हुने यौन दुर्व्यवहार विरुद्ध जनचेतना बढाउँदै आएको पत्रकारिता क्षेत्रमा कार्यरत पुरुष पत्रकारलाई आफ्नै सहकर्मी महिला पत्रकारसँग यौन दुर्व्यवहार गरेको आरोप लगेको छ ।
झापाका सूर्योदय टेलिभिजनका सम्पादक उमाकान्त खनाललाई त्यस्तो आरोप लगेको हो । उनले सोही टेलिभिजनमा कार्यरत पत्रकार भावना लिङदेनमाथि यौन दुर्व्यवहार गरेको सञ्चारिका समूहद्वारा आइतबार प्रकाशित वक्तव्यमा उल्लेख छ ।
यौन दुर्व्यवहारमा संलग्न रहेका सम्पादक खनाललाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित पत्रकार भावना लिङ्देनको सामाजिक प्रतिष्ठामा भएको क्षतिपूर्ति तथा पेसागत सुरक्षाको प्रबन्ध गर्न सम्बन्धित नियामक संस्था र स्थानीय प्रशासन समक्ष सञ्चारिका समूहले वक्तव्य मार्फत माग गरेको छ ।
उक्त घटना लगत्तै लिङदनलाई सम्पादक खनालले कामबाट विस्थापित गरेको वक्तव्यमा उल्लेख छ । भनिएको छ ‘यस निन्दनीय घटनाप्रति सञ्चारिका समूह खेद व्यक्त गर्दछ र दोषीलाई कारबाही तथा पीडित पत्रकारको सामाजिक जीवन तथा पेसागत सुरक्षाको प्रत्याभूत गर्न सरकार समक्ष माग गर्दछ ।’
पत्रकार महिलामाथि भएको यौन हिंसाको घटनामाथि छानबिन गरी दोषीलाई कारबाही गरी पीडितको पेसागत सुरक्षाको ग्यारेन्टी नभए यस्ता घटनाले पत्रकार महिलाहरूको जीवनरक्षा र पेसागत दायित्वमाथि गम्भीर आघात पुग्ने वक्तव्यमा उल्लेख छ ।