विराटनगर : विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् ।

प्रदेश सरकार आगामी आर्थिक २०८०/०८१ को बजेट निर्माणमा जुटेको छ । विराटनगर कोशी प्रदेश राजधानीसँगै एक मात्रै महानगरपालिका भएकाले बजेटमा उच्च प्राथमिकतामा राख्नुपर्ने कार्यबाहक मेयर कार्कीको भनाइ थियो ।

वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, कानुनी सल्लाहकार डिल्ली घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अर्जुन थापालगायतलाई साथमै लिएर मुख्यमन्त्री कार्कीलाई भेट्न पुगेकी कार्यबाहक मेयर कार्कीले ऐतिहासिक र आर्थिक नगरी भएर पनि विराटनगर पछि पर्दै गएको बताएकी छन् ।

प्रदेश राजधानी भएकाले विराटनगरको विकासमा ध्यान दिन मुख्यमन्त्रीलाई बजेटमा प्राथमिकतामा राख्न आग्रह गरेको कार्कीका स्वकीय सचिव निश्चय मायालुले जानकारी दिए ।

सो अवसरमा प्रदेश सरकारले हालै ल्याएको स्थानीय सेवा गठन, सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशप्रति कार्कीले असन्तुष्टि समेत व्यक्त गरेकी छन् ।उनले अध्यादेशका कारण कर्मचारीहरूले धमाधम राजीनामा दिइरहेकाले महानगरको कार्यसम्पादनमा समस्या भएको गुनासो  समेत गरेकी थिइन ।

कार्यबाहक मेयर कार्कीले स्थानीय सरकारसित छलफल र परामर्श नगरी ल्याएको अध्यादेश संशोधन हुनुपर्नेमा जोड दिएको स्वकीय सचिव मायालुले जानकारी दिए । सो अवसरमा मुख्यमन्त्री कार्कीले विराटनगरको विकास र समृद्धिमा आफू गम्भीर भएको प्रतिक्रिया दिए ।

उनले आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्ने आश्वासन दिएको मायालुले  बताए ।