धरान : स्थानिय सरकार धरान उपमहानगरपालिकाका प्रवक्ता, वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराईले कोकाह खोलाबाट खानेपानी ल्याउने भनी भइरहेको श्रमदान मेयर हर्कराज राईको नभई अभियन्ता हर्क साम्पाङको अभियान भएको बताएका छन् ।

उनले भने ‘मेयरले चलाएको आयोजना हो भने कार्यपालिकाको निर्णय हुनुपर्‍यो, उपमहानगरपालिकाको योजना, कार्यक्रमको निर्णय चिया पसलमा हुँदैन ।’

आफूलाई सामाजिक सञ्जालमा अस्ति गालीगलौज गर्दै लगाएको आरोप कपोकल्पित, तथ्य र आधारहीन भएको जानकारी दिन आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

मेयर साम्पाङले विधि, नीति नियम बाहिर गएर सामाजिक र जातीय सद्भाव भड्काउन खोजेको आरोप लगाउँदै उनले भने ‘उहाँ सामाजिक सञ्जालको लाईक र कमेन्टमा रमाई रहनु भएको छ ।’

वडाध्यक्ष भट्टराई नेकपा माओवादी केन्द्रका धरान उपमहानगर कमिटीका अध्यक्ष पनि हुन् । उनले मुलुकका ७५३ वटा स्थानिय तह जस्तै धरान उपमहानगरपालिकालाई नीति नियम, कानुनमा चल्न भइरहेको २८ जना कार्यपालिका सदस्यहरूले लडिरहेको लडाइँमा साथ दिन उनले आम धरानवासी सँग अपिल गरे ।

उनले सामाजिक सञ्जालमा खानेपानी बोर्डको ट्याङ्कीबाट पानी फाल्ने काम गरी खानेपानी समस्या निम्ताएको, पाइप काटेको घटना सत्य नभएको बताए । उक्त असत्य घटना भएको भनिएको दिन आफू धरानका विकासका योजनाहरू सहित काठमान्डु गएको प्रतिनिधि मण्डलमा सहभागी रहेको स्पष्ट गरे ।

उनले भने ‘खानेपानी बोर्डका कर्मचारी मेरो मातहतमा छैनन्, हुँदै नभएको घट्नामा मलाई मुछेर सामाजिक सञ्जालमा म विरुद्ध लगाइएको आरोप झुठो हो ।’

आरोप लगाउने तर्क मगरले खानेपानीको अभावलाई ढाकछोप गर्न १७ वडाका अध्यक्षले राती पानी फालेको, पाइप काटेको भनी फेसबुकमा लेखेर आफ्नो चरित्रहत्या गरेको भट्टराईले प्रत्यारोप लगाए ।

खानेपानी अभावको विषयलाई बिषयान्तर गर्न खोज्ने तर्क मगर हर्क साम्पाङ समूहबाट सुनसरी क्षेत्र नं १ (क) का उम्मेदवार भएकाले मगरलाई कानुन बमोजिम कारबाहीको माग गरिएको उनले बताए ।

प्रवक्ता भट्टराईले वडा १० का अध्यक्ष र आफ्नो व्यक्तिगत कुरा गरी फेसबुकमा चरित्रहत्या गर्ने आरसी राई इलाका प्रहरी कार्यालयले खोजिरहेको तर मेयर साम्पाङले जोगाएको बताए । उनले भने ‘मेयरमा नैतिकता भएमा अपराधीहरूलाई जोगाउने काम बन्द गर्नु पर्दछ ।'

कार्यपालिकामा मत विभाजन भएपछि मेयर साम्पाङले वडाध्यक्षहरू भ्रष्टाचारी हुने गरेको आरोप लगाएको बताउँदै उनले २० जना वडाध्यक्ष, ८ जना कार्यपालिका सदस्यहरूले भ्रष्टाचार गरेको कानुनी रूपमा पुष्टि भए सजाय भोग्न तयार रहेको बताए ।

भट्टराईले भने ‘स्थानिय सरकार प्रमुख कानुनी दायरा भित्र बस्नु पर्‍यो ।’ धराने जनतालाई पानी खुवाउँछु भनेर आएका हुन कि श्रमदान गरेर, पैसा उठाएर ल्याउँछु भनेर आएका हुन ? प्रश्न गर्दै उनले भने ‘मेयर साम्पाङले कानुनी दायरामा रही नीति, विधि प्रक्रियाबाट कार्य गर्नुपर्छ, पारदर्शिता हुनुपर्छ भन्ने माग मात्र वडाध्यक्षहरूको हो ।’

वडाध्यक्ष र कार्यपालिका सदस्यले अख्तियारमा मुद्दा हालेका छन् भनी मेयरले आफै फेसबुकमा ‘जनताको सेन्टीमेन्ट क्याच गर्न’ जे पायो तेई लेखिरहेको बताउँदै प्रश्न गरे ‘कुन वडाध्यक्षले मुद्दा हाल्यो मेयरले सार्वजनिक रूपमा भन्नु पर्‍यो, झुटो हल्ला फैल्याउनु भएन।’

सामाजिक र आर्थिक कुरामा राम्रो छवि नभएका तर्क मगर र समीर तामाङले फेसबुकमा जो पायो त्यही भिडियो बनाउने आरसी राई, सम्पूर्ण साम्पाङ राई, दीपक खालीङ विरुद्ध इलाका कार्यालयमा मुद्दा दर्ता  गराएको उनले बताए।

आरसी राईले मुटु रोगी बच्चाको आर्थिक सहयोग उठाएर १० लाख रुपया हिनामिना गरेको आरोप लगाउँदै भट्टराईले आरसीले धरान-१७ मा भएको एक घटनामा मुद्दा मिलाइदिन्छु भन्दै प्रतिव्यक्ति १० हजार रुपया मागेको जगजाहेर रहेको बताए ।