धरान : धरानका उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले मेयर हर्कराज राईको बारेमा टीकाटिप्पणी नगर्ने बताएका छन् । धरानमा वडा अध्यक्ष र मेयर बिचको विवाद संवाद मार्फत हल गर्नुपर्ने बताए ।

पत्रकार महासङ्घ सुनसरीले आयोजना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयको अन्तरक्रिया कार्यक्रममा मेयर राईले मुख्य जिम्मेवारी लिनुपर्ने बताए । "मेयरले सबैलाई जोडेर लैजानुपर्छ । यस बिचमा केही समस्या देखिएका छन् । त्यसलाई सच्याउनु पर्छ । म कहिल्यै पनि अराजकताको पक्षमा छैन," उनले भने ।

आफू विधि र संस्थागत निर्णयको पक्षमा रहेको बताउँदै बाहिर आए जस्तो गलत हल्लाको पछि नलाग्न आग्रह गरे । "म धरानको जनताको लाइनमा हुन्छु । विधि र पद्धतिमा धरानलाई हिँडाउनुपर्छ भनेर म मेयर साबलाई आग्रह गर्छु । मेयरले पेलेरै जान्छु भनेर सोच्नु हुँदैन । मध्यमार्गी बाटोबाट जानुपर्छ," उनले थप प्रष्ट पारे ।