इटहरी : इटहरी उपमहानगरपालिका १० स्थित आन्तरिक राजस्व कार्यालय जाने पुल निर्माण नहुने भएको छ । स्थानीयले लामो समयदेखि पहलकदमी अगाडी बढाए पनि वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता आइपरेको हो ।

राजमार्गको पूर्वपट्टि बग्ने टेङ्ग्रा खोलाको पुल दुई वर्ष अगाडीको बाढीले भत्काएको थियो । वैकल्पिक रूपमा ह्युम पाइप लगाइएको भए पनि त्यसले लामो समय थेग्न सकेन ।

अहिले राजस्व कार्यालय जाने सेवाग्राही अलमलमा पर्ने गरेका छन् । कार्यालय आउने जाने समस्या भोगेका सेवाग्राही मारमा छन् । स्थानीयले पुलको माग गरेर वडा कार्यालय देखी उपमहानगरपालिका सम्म पुगे । मेयर हेमकर्ण पौडेलले पुल निर्माणको लागि आवश्यक बजेट प्रबन्ध मिलाउने बचन दिएका थिए ।

तर वडा सदस्य अमर श्रेष्ठले १२ लाख रुपैयाँ विनियोजन भएर नयाँ वैकल्पिक बाटोको तयारी रहेको बताए । स्थानीय गोपाल श्रेष्ठ अध्यक्ष रहने गरी उपभोक्ता समिति गठन भइसकेको उनको भनाई छ । लामो समय सोही पुल निर्माण गर्ने प्रयास भए पनि ६ लेन सडक आयोजना तथा केही प्राविधिक कारण असफल भएको उनले सुनाए । विकल्पमा केही उत्तर देखी बाटो मर्मतको काम सुरु भएको उनले जानकारी दिए ।

रानी-विराटनगर-इटहरी-धरान ६ लेन सडक आयोजनाकी इन्जिनियर प्रियङ्का झा टेङ्ग्रा खोलालाई केही पूर्व सार्नुपर्ने भएकाले पुल निर्माणमा हतारो नगर्न आग्रह गरिएको बताउँछिन् । स्थानीयले खोला सार्ने विषयमा मुद्दा हालेको तर आयोजनाको पक्षमा फैसला भएको बताउँदै उनले अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउने बित्तिकै काम सुरु हुने जानकारी दिइन् । सडकको बिच भागदेखि २५ मिटर दायाँबायाँ सडक विस्तार हुने डिपिआर भएकाले हाल पश्चिम तर्फ काम भइसकेको र पूर्व तर्फ केही समयमै निर्माण कार्य सुरु हुने उनले बताइन् ।