धरान : किरात राई यायोक्खाले यसपालिको उभौली साकेला प्रदेश १ को पुनः नामाकरण  आन्दोलनसँग जोडेर मनाउने भएको छ । भोलि वैशाखे पूर्णिमा देखी सुरु हुने साकेलाको बारेमा जानकारी दिन आज बिहान पत्रकार सम्मेलनमा यायोक्खा सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राई उक्त जानकारी दिएका हुन्  ।

पत्रकार सम्मेलनमा जारी वक्तव्यमा भनिएको छ ‘२०८० सालको साकेला उभौलीको सन्दर्भमा कोशी प्रदेश नाम खारेजीको माग गर्दै नेपालको प्राचिन सभ्यता एवं बहुपहिचानको आधारमा किरात प्रदेश हुनुपर्दछ भन्ने किरात राईहरूको मागलाई विशिष्ठ रूपमा उठाउने छ ।’

किरात धर्म हो कि सभ्यता हो भन्ने बारेमा पत्रकारहरूले गरेको प्रश्नमा अध्यक्ष राईले भने ‘किरात नेपालको ऐतिहासीक सभ्यता हो ।’ लिम्बुवान, किरातको नामाकरण मागलाई पनि उनले पहिचानको आधारमा प्रदेशको नामाकरणकै माग भएकोले जायज भएको बताए ।

साकेला उभौली वैशाखे पूर्णिमा देखि औंशी सम्म विधिवत रूपमा ढोल झ्याम्टा फुकाई १५ दिन सम्म  आंगनमा स्याउली गाडेर धूमधाम साकेला शिली नाची चाड मनाउने कार्यक्रम यायोक्खाले सार्वजनिक गरेको हो । यायोक्खा सुनसरी जिल्ला समितिको आयोजनामा धरान १७ स्थित सकालेका पार्कमा जिलाभरका राई समुदाय बिच साकेला शिली प्रदर्शन प्रतियोगिता पनि हुने जानकारी दिइएको छ ।

kirat sakela

पत्रकार सम्मेलनमा अध्यक्ष राईले संस्कार संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने राज्यको दायित्व रहेपनि राज्यले किरात राईहरूको संस्कृतिलाई महत्त्व नदिएको बताए । किरात र १ नम्बर प्रदेशमा आदीवासी जनजातीको बसोबास रहेको र ईतिहास, भुगोल र सभ्यताको सम्मान प्रदेशवासीको आव्हान हुँदा सम्म पनि सरकारले किरात राज्य घोषण नगरिएकाले किरात समुदाय आन्दोलनमै रहेको उनको भनाई थियो ।

राई समुदायले उभौली साकेला समय साल राम्रो होस्, अन्नवाली सप्रियोस, अनिकाल नलागोस्, सबै जीव प्राणीहरूमा सुख शान्ति होस भन्दै सिमेभूमे पूजागरी साकेला नाचेर नयाँ अन्नवाली लगाउने याम सुरु भएको रूपमा मनाउने गर्दछन् ।

साकेलामा नाचिन लयलाई शिलि भनिने गरिएको उल्लेख गर्दै पत्रकार सम्मेलनमा जारी वक्तमा भनिएको छ ‘साकेला शिलि आराधानात्मक शिलि, अनुकरणात्मक शिलि, कृयाकलात्मक शिलि गरी ३ प्रकारको हुने गरेको पाईएको छ ।’

किरात राईहरूको सांस्कृतिक एकताको प्रतिकको रूपमा रहेको साकेला शिली नेपाल, भारत, हङकङ, बेलायत, जापान, मकाउ, सिंगापुर, अमेरिका, दक्षिण कोरिया, दुबई, साउदी, कतार, मलेशिया, अस्ट्रेलिया आदि देशहरूमा किरात राईहरूको बसोबास रहेको छ ती ठाउँहरूमा धूमधामसँग नाच्ने गरिन्छ ।