धरान : नेपाली काँग्रेसको शुभेच्छुक जातीय सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी लिम्बू याक्थुङ सङ्घको २१ सदस्यीय केन्द्रीय तदर्थ समिति उत्तमसिंह थाङदेनको सभापतित्वमा गठन भएको छ । थाङदेन किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिका पूर्व अध्यक्ष हुन् ।

विभिन्न जिल्लाका काँग्रेसका लिम्बू अगुवाहरूको आज बिहीबार धरानमा भएको भेलाले सङ्घको केन्द्रीय तदर्थ समिति सभापतिमा थाङदेनलाई सर्वसम्मतले चयन गरेको हो । यस अघि २०६६ सालमा काँग्रेसको शुभेच्छुक संस्थाको रूपमा नेपाल लिम्बू सङ्घ गठन भएको थियो । त्यसका सभापति प्रवीण नेम्वाङ थिए ।

नेम्वाङ तत्कालीन सङ्घीय समाजवादी पार्टीमा गएपछि लिम्बू सङ्घ केन्द्रीय समिति सभापतिको जिम्मेवारी अर्जुनबाबु माबुहाङले सम्हालेका थिए । माबुहाङ नेपाली काङ्ग्रेसबाट तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका मेयर निर्वाचित भए देखी लिम्बू सङ्घ निष्क्रिय थियो ।

बिहीबार भएको काँग्रेस सम्बद्ध लिम्बूहरूको भेला मेयर अर्जुनबाबु माबुहाङको सभापतित्वमा भएको हो । उनले सङ्घका नवगठित तदर्थ समिति सभापति उत्तमसिंह थाङदेनलाई माइन्युट, फायल लगायत कागजातहरू हस्तान्तरण गरेका थिए ।

थाङदेन सभापति रहेको तदर्थ समिति सदस्यहरूमा भवनीबिक्रम सम्बाहाम्फे (उपत्यका), मनोज मेन्याङबो (मोरङ), अर्जुन लिम्बु (झापा), हर्क चेम्जोङ (धनकुटा), राज्यप्रसाद लुङफुङवा (तेह्रथुम), हितराम तिलिङ (तेह्रथुम), अशोक लिङथेप (सङ्खुवासभा), अभिषेक एक्तेन (इलाम), सङ्गीता सुहाङ (पाँचथर), खगेन्द्र लिम्बु (धनकुटा), बानुभानु सुब्बा (मोरङ) छन् ।

limbuu-sang-2यस्तै राजकुमार थोप्रा (सुनसरी), विष्णुकुमार सेन्दङ (सुनसरी), गणेश साँवा (सुनसरी), गजेन्द्र लिङथेप (सुनसरी), सन्दीप लिम्बु (धनकुटा) केन्द्रीय सदस्य चयन भएका छन् । कार्यसमितिमा ताप्लेजुङ जिल्ला सहित बाँकी रहेका रिक्त सदस्यहरू कार्यसमितिको बैठकबाट मनोनयन गर्ने निर्णय गरिएको छ ।

सङ्घको भेलाका प्रमुख अतिथि प्रदेश १ का पूर्व प्रमुख प्राडा.गोविन्द तुम्बाहाङ थिए । भेलामा उनले २००७ सालको क्रान्ति सहित नेपाली काँग्रेसको प्रजातान्त्रिक आन्दोलनमा लिम्बु जातीले महत्त्वपूर्ण योगदान गर्दै आएको बताए । त्यसको लेखाजोखा पार्टीमा राख्ने कार्य संगले गर्नु पर्नेमा उनले ध्यानाकर्षण गराए ।

पूर्व सभापति अर्जुनबाबु मावुहाङले अबको राजनीतिक मुद्दा पहिचान र परम्परागत संस्कृतिमा केन्द्रित हुने भएको देखिएको बताउँदै पार्टीलाई बलियो बनाउन अबका प्रमुख आधारहरू तिनै भएकाले बोल्न, भन्न डराउन नहुने बताए । उनले भने ‘अबको बहस भनेको परम्परागत ज्ञान र पहिचानको विषय हो ।’

नेपाल लोकतन्त्रवादी आदिवासी लिम्बु याक्थुङ सङ्घ नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको सदस्य सङ्घ हो । काँग्रेसको नेपाल आदिवासी जनजाति सङ्घ २०५५ सालमा विघटन गरी ओम थापा मगरको सभापति रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, केन्द्रीय समिति गठन गरिएको छ ।