धरान : ‘कोशी’ नेपालबाट बगेर गएको नदीलाई भारतीय क्षेत्रमा प्रयोग हुने नाम भएको र यसले प्रदेशको पहिचान नदिने भएकाले तत्काल खारेज गरेर पहिचान सहितको पुनः नामकरण गरिनु पर्ने आदिवासी अगुवाहरूले माग दोहोर्‍याएका छन् ।

कोशी नाम खारेजी, पूनः नामकरण आन्दोलनसँग जोड्दै आज शनिवार धरानमा आयोजित उभौली साकेला पर्वको शुभकामना सभामा किरात राई यायोख्खाका अगुवाहरूले उक्त माग दोहोर्‍याएका हुन । भानुचौकमा खुल्ला सभा तथा साकेला नाच किरात राई यायोख्खा धरान नगर समितिले आयोजना गरेको हो ।

सभामा प्रमुख अतिथि यायोख्खाका केन्द्रीय उपाध्यक्ष दोर्पाध्वज राईले भने ‘कोशी नेपालमा प्रयोग हुने नाम नभई भारतीय क्षेत्रमा प्रयोग हुने नाम हो ।’ नेपालमा कोशी शब्द केहीमा पनि प्रयोग नहुने बताउँदै नेपालमा बग्ने नदीहरू सप्तकोशी, दुधकोशी, तामाकोसी, अरुण, वरुण, भोटेकोसी भएको उनले स्पष्ट गरे ।

उनले भने ‘कोशीको व्याख्या तथ्यले बनाउँदैन कोशी भारतीय क्षेत्रमा प्रवेश गरेपछि मात्र कोशी हुने भएकोले यो नाम अविलम्ब खारेज हुनु पर्छ ।’ एकल जातिवादको रूपमा प्रयोग भएको कोशी प्रदेश नामकरण पहिचानबादिलाई मान्य नहुने उनले बताए ।

किराया प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शालिक सताशक राईले कोशी नामकरण एकल जातिवादी गोत्रको नामकरण अविलम्ब खारेज हुनु पर्ने बताउँदै भने ‘कोशीले पहिचान बोल्दैन, पहिचान यहाँका ढुङ्गा माटो र इतिहासले बोल्दै आएको छ ।’

सबिधान प्रदत्त हक अधिकारको पाउन लाजेहाङ सहिद भएको उल्लेख गर्दै लाजेहाङ जस्तै हजारौँ आदिवासी युवा पहिचानको लागि जीवन बलिदान दिन तयार रहेको उनले बताए ।

पूर्व संविधानसभा सदस्य किरण राईले अन्य छ वटा प्रदेशको नाम राखेको जस्तो सजिलो प्रदेश नं १ को नामकरण नभएको बताए । पहिचान नामेट गरेर नाम राख्न खोज्दा लाजेहाङ सहिद भएको उल्लेख गर्दै उनले भने ‘एकात्मक जातिवादहरूको उत्पीडित समुदायबाट सहिद भएका लाजेहाङलाई राज्यले लज्जास्पद हुँदै सहिद घोषणा गर्न बाध्य भएको हो ।’

राज्यले लाजेहाङलाई सहिद घोषणा गर्नु भनेको कोशी नामकरण खारेजी गरेको हो भन्ने बुझ्न गाह्रो नभएको उल्लेख गर्दै राज्य पनि कोशी प्रदेश नामकरण विरोधी नै रहेको खुलासा भैसकेको बताए । उनले भने ‘तर पहिचानवादी एक जुट भएर लागि पर्नु आवश्यक छ ।’

पूर्व सभासद् राईले राजनैतिक दमन उत्पीडन प्रतिवादको लागि एकताबद्ध हुँदै दमनको प्रतिवाद नभैइजेल एकजुट पहिचानवादीलाई आह्वान गरे । उनले भने ‘पहिचान मेटाउन जनतालाई ललिपप देखाउने काम नगरियोस् ।’

अति जातिवाद दमन र उत्पीडन गरियो भने पूर्वका सम्पूर्ण आदिवासी सांस्कृतिक स्थलहरू ब्यारेकको रूपमा परिणत गर्ने चेतावनी समेत उनले दिए ।

यायोख्खा सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राई पहिचान बिनाको नामको विरोधमा सम्पूर्ण पहिचान पक्षधर एक जुट हुनुपर्नेमा जोड दिदैं पहिचानको पक्षमा लड्दा पार्टीबाट अवरोध आए पार्टी छोड्न आफू पार्टी छोड्न तयार रहेको बताए । उनी नेपाली काँग्रेसका सुनसरी-१ प्रदेश (क)का क्षेत्रीय सचिव हुन ।

सभामा किरात राई यायोख्खा पूर्व केन्द्रीय अध्यक्ष तथा धरानका पूर्व मेयर तिलक राई, प्रदेश उपाध्यक्षहरू बलराम राई, सदर राई, वडा अध्यक्षहरू रमेश राई, धनबहादुर राई, विवेक राईको उपस्थिति थियो ।

सभा अघि लिम्बु जातिको च्याब्रुङ नृत्य, साकेला समूहहरूको झाँकी सहितको र्‍यालीले धरान बजार परिक्रमा गरेको थियो । सभा यायोख्खा धरान नगर अध्यक्ष लोकेन्द्र राईको सभापतित्वमा भएको थियो । सञ्चालन नगर सचिव लक्ष्मी राईले गरेकी थिइन् ।