वराहक्षेत्र : सुनसरी निर्वाचन क्षेत्र नं.१ को २७ वटै वडामा नेपाली काँग्रेस क्षेत्रीय समितिले बृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
वडा कार्य समितिहरूको व्यवस्थापन र प्रजातन्त्रवादी प्राध्यापक सङ्घ र नेपाल शिक्षक सङ्घको प्राविधिक सहयोगमा शनिवार उक्त प्रशिक्षण कार्यक्रम आयोजना भएको हो । 
वैशाख ५ गते बसेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ बैठकले एकै दिन एकै समय वैशाख २३ गते वडा वडामा बृहत् प्रशिक्षण गर्ने निर्णय गरेको थियो । वडाका टोल समिति, वडा समिति, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, साधारण सदस्य, भातृ, तथा शुभेच्छुक संस्था, शुभ चिन्तक, जनप्रतिनिधि तथा जनप्रतिनिधिका प्रत्याशी र वडाका पार्टी, भातृ एवम् शुभेच्छुक सङ्घ, संस्थाका नेतालाई सहभागी गराएर प्रशिक्षण दिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
प्रशिक्षणमा नेपाली कांग्रेको इतिहास, नेपाली काँग्रेसको विकास, नेपाली काँग्रेसले जनताको पक्षमा गरेको आन्दोलन, जनताको पक्षमा गरेको काम लगायत नेपाली काँग्रेसको विधान, संस्थापक नेताहरूको जीवनी, सङ्घर्ष, योगदानको बारेमा क्षेत्र नं. १ भरिका वडाका कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।
वडामा रहेका कार्यक्रताहरुलाई उत्साह जगाउन र नेताहरूलाई सक्रिय बनाउन उक्त प्रशिक्षणको दिएको सभापति तामाङको भनाई छ ।
वडा वडामा गरिएको प्रशिक्षणबाट कार्यकर्तामा उत्साह जगाएको र सङ्गठनलाई थप बलियो बनाउन सहयोग पुगेको क्षेत्रीय सचिव केशव पुरीले बताए । वडामा पार्टीको सङ्गठनको अवस्था र कार्यकर्ताहरूको माग र बिचार समेत प्रशिक्षणको माध्यमबाट जानकारी लिएको सचिव पुरीको भनाई रहेको छ ।
प्रशिक्षण कार्यक्रमले तल्लो तहको सङ्गठनलाई चलायमान बनाउन सहयोग पुगेको वराहक्षेत्र २ का सभापति अमर कटवालको भनाई छ। यस्तो प्रशिक्षण कार्यक्रमबाट थप नयाँ कुरा सिक्न पाउने र नेता कार्यकर्ताबिच अन्तरक्रिया हुने उनले बताए ।
पार्टीलाई जीवन्त बनाउन प्रशिक्षण कार्यक्रम अतीआवश्यक पर्ने र पार्टीलाई कार्यकर्तामुखी बनाउन सहयोग पुग्ने वराहक्षेत्र १ का सभापति ईश्वर थापा बताउँछन् ।
baraha-5