वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. २ मा रहेको वराह आदर्श क्याम्पसले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई स्वागत सम्मान गरेको छ ।

सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित मन्त्री राईलाई क्याम्पसमा परिसरमा आइतबार बिहान औपचारिक कार्यक्रम गरेर सम्मान-पत्रले सम्मान गरेको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्र मगरको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा क्याम्पस प्रशासनले मन्त्री राईलाई विश्व विद्यालय अनुदान, भौतिक संरचना, जमिनको भो चलन, सङ्काय थप लगायतका समस्याहरूको विषयमा ध्यानाकर्षण गराएको थियो।

कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष अमर कटुवाल, क्याम्पस प्रमुख रमेश चौहान, सञ्चालक समितिका सदस्य कृष्णप्रसाद गुरागाईँ, आदर्श माविका पूर्व प्रअ प्रह्लाद भट्टराई, वर्तमान प्रअ लक्ष्मीप्रसाद लिम्बु, वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम, वराहक्षेत्र शिक्षा शाखाका प्रमुख उपसचिव देवेन्द्र मल्ल उपप्रमुख नन्दकुमारी सुनुवारले विद्यालय, क्याम्पस लगाएको समग्र वराहक्षेत्रको सम्भावना र चुनौतीको विषयमा अवगत गराएका थिए ।

कार्यक्रम बोल्दै मन्त्री राईले क्याम्पसका समस्याको हल गर्न लागि पर्ने बताए । सबै मागहरू पूरा गर्न समय लाग्ने बताउँदै मन्त्री राईले जनताको अति आवश्यक कुराहरूलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।