धरान : सहर भित्रैका वित्तिय सेवाको पहुँचबाट टाढाको क्षेत्रमा डिजिटल वैंकिङ सचेतना बढाउँदै मञ्जुश्री फाइनान्स लिमिटेडले बजार प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ ।

नगद वैकिङ सेवा पहुँच नभएका ठाउँमा तत्काल विकल्पको सहज प्रयोग बन्न थालेको डिजिटल बैंकिङप्रति आकर्षण बढेको बेला मञ्जुश्रीले सचेतना कार्यक्रम गरेको हो ।अहिले धेरैजसो नागरिक मोबाइल बैंकिङ, अनलाइन खाता, क्युआर स्क्यान, आइपिएस जस्तै डिजिटल बैंकिङका सेवामा आकर्षित भएको धरान शाखा बजार प्रवर्धन अधिकृत सपना श्रेष्ठले बताइन् ।

उनले भनिन् ‘तर ठूलो संख्यामा डिजिटल बैंकिङबारे जानकार छैनन्, उनीहरूलाई जानकारी दिन सचेतना कार्यक्रम गरिएको हो ।’

फाइनान्सका कर्मचारीहरूले व्यवसायी, सर्वसाधारणलाई डिजिटल बैंकिङको उपयोगिता र अपनाउनु पर्ने सजगताका बारेमा जानकारी गराएका थिए । शनिवार धरान-१७ रेलवे चौक वरिपरि प्लेकार्ड सहित सचेतना कार्यक्रम गरिएको हो ।

कुल चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको मञ्जुश्री फाइनान्सको प्रमुख कार्यालय काठमान्डुमा छ । यस्का २६ वटा शाखा कार्यालयहरू छन् । धरान शाखा प्रबन्धक रविना श्रेष्ठका अनुसार डिजिटल सचेतना शुक्रवार देशभरका शाखाले सञ्चालन गरेको थियो ।

मञ्जुश्री नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त फाइनान्स लिमिटेड हो । यसले मुद्दती निक्षेपमा १२ दशमलव २५ प्रतिशत र बचत खातामा ९ दशमलव.७५ प्रतिशत सम्म ब्याजदर दिने गरेको छ ।

सोही अवसरमा फाइनान्स धरान शाखाका कर्मचारीद्वारा धरानका मेयर हर्क साम्पाङव्दारा सञ्चालन भइरहेको खानेपानी श्रमदान अभियानमा सहभागी भएको जानकारी शाखा प्रबन्धक रविनाले दिइन् ।