धरान : ट्राफिक प्रहरीको व्यवहार सचेतनामैत्री नभई हुकुमी शैली भएको गुनासो बढेको बेला कोशी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले ट्राफिक प्रहरीहरूलाई व्यवहारमा सुधार ल्याउन निर्देशन दिएका छन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण भ्रमणमा प्रहरी नायब महानिरीक्षक बास्तोलाले शनिवार कडा निर्देशन दिएका हुन् । उनले ट्राफिक प्रहरीले चेकिङको क्रममा अभद्र व्यवहार तथा अनैतिक कार्य गर्न नहुने निर्देशन दिएका छन् ।

उनले मोरङ र सुनसरीमा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी पोष्टका इन्चार्जहरूलाई उक्त निर्देशन दिएका हुन् । आम नागरिकहरूमा सडक सुशासनको महसुस हुने गरी ट्राफिक व्यवस्थापन मिलाउने, चेकिङको क्रममा कसैलाई दुःख दिने, आर्थिक प्रलोभनमा पर्ने तथा गैह्र व्यावसायिक कार्य नगर्ने, यदि कसैले गरेको पाइएमा कारबाहीको भागीदार हुनुपर्ने तर राम्रो काम गर्नेलाई पुरस्कृत गरिने उनले बताए ।

नायव महानिरीक्षक बास्तोलाले सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक चेक प्वाइन्ट राख्ने तथा सवारी चालक, पैदलयात्रीहरूलाई ट्राफिक प्रशिक्षण दिई सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति नहुने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन दिएका छन् ।