धरान : धनकुटाको ऐतिहासिक तथा धार्मिक महत्त्वको हिले स्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा आकर्षक मूल प्रवेशद्वारको निर्माण गरी सोमबार उद्घाटन गरिएको छ । मन्दिर परिसरमा आयोजित एक समारोहका बिच प्रमुख अतिथि पूर्वी पृतना हेडक्वार्टर पृतनापति आश बहादुर तामाङबाट उद्घाटन भएको हो ।

प्रवेशद्वार नेपाली सेना भिमदल गण धनकुटाद्वारा क्युआईपिबाट निर्माण भएको हो । प्रवेशद्वार निर्माणको लागि पूर्वी पृतना हेडक्वार्टर तथा श्री नम्बर २ बाहिनी अड्डाको विशेष पहल भएको थियो । नेपाली सेनाको शीघ्र प्रभावी योजना आर्थिक वर्ष २०७९/८० मा विनियोजित बजेट १० लाखको लागतमा प्रवेशद्वार निर्माण भएको भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा बताएका छन् ।

उद्घाटनको अवसरमा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, २ न बाहिनी का बाहिनी पति महेश कुमार थापा, भिमदल गणका गणपति सुमन थापा, वडा अध्यक्ष वाङ्दा तामाङ, निर्माण समितिका लालचन्द गोङ्बाको उपस्थिति थियो ।

प्रवेशद्वार निर्माणको प्रमुख सेनानी थापाले २०७९ कार्तिकमा शिलान्यास गरेका थिए । पुरातात्त्विक शैलीको मूल प्रवेशद्वार निर्माणले मन्दिरको महत्त्व बढाई धनकुटाको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

hile-mandir-prabesh-dwar