• भीषण राई
चतरा : सुनसरीको वराहक्षेत्र नगर १ नम्बर वडामा पर्ने पहाडी भूगोलमा रहेको सिन्दूर पुच्छर गाउँमा नगरको नजर नपर्दा विकासको मूलधारबाट यो गाउँ वञ्चित रहँदै आएको छ । नगरको सबै वडाको विकास भइरहँदा यो गाउँ भने अझै पनि जहिको त्यही कै अवस्थामा छ। यो गाउँले विकासका योजना पाएको छैन । भन्नू पर्दा सिन्दूर पुच्छर गाउँ बत्ती मुनिको अँध्यारो जस्तै भएको छ। 
अहिले पनि सिन्दूर पुच्छर गाउँको बहुसङ्ख्यक घरमा बत्ती पुग्न सकेको छैन। सडकको अवस्था पनि उस्तै छ । स्थानीयले शुद्ध पिउने पानी पाउन सकेका छैनन् । नजिकै स्कुल नहुँदा विद्यार्थीले पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । 
विकासका लागि योजना र बजेट आउँछ भन्ने सुनेका छौँ तर हामीलाई कसैले जानकारी दिँदैन,’ स्थानीय कमानसिंह राईले भने, ‘देख्नु त परैको कुरा, सुन्न पनि पाइँदैन ।’
वराहक्षेत्र नगरपालिका-१ का वडाध्यक्ष किसन मगरको बुझाइमा गाउँको विकासमा थोरै बजेट छुट्याउनु र सोझा जनताको बसोबास भएकाले उनीहरूका मागप्रति नगरले सधैँ बेवास्ता गर्दै आएको उनको निष्कर्ष छ । सबै वडामा समानुपातिक बजेट वितरण हुँदा पहाडमा उक्त बजेट कम हुने गरेको उनी बताउँछन् ।
जुग पाख्री डाँडाबाट तीन किलोमिटर तल र वराहक्षेत्र मन्दिर देखि एक किलोमिटर माथि रहेको सिन्दूर पुच्छर गाउँ पुग्न चतराबाट गाडीबाट पौने घण्टा लाग्छ । त्यस्पछी एक घण्टा हिँडेर यो गाउँ पुग्न सकिन्छ। 
यो गाउँको मुख्य आम्दानी बेसार खेती हो। यहाँ प्रशस्त मात्रामा बेसार उत्पादन हुन्छ । यस बाहेक उनीहरू कुखुरा गाईबस्तु खसी बोका पालन गरी जीविकोपार्जन गर्ने गरेका छन् ।
नगरले दुर्गम र सुगम वडालाई बराबर भागबन्डा गरेर बजेट विनियोजन गर्ने गरेकाले अपेक्षाकृत एवं प्रभावकारी विकास हुन सकेको छैन ।
स्थानीय तहले समानुपातिक बजेट छुट्याउने नीति नल्याएकाले दुर्गम र अति जटिल भूगोल भएका गाउँमा विकासका योजना पुग्न नसकेका हुन् । वडा र नगरले स्थानीयसँग सरोकार बढाएर योजना बनाउन सकेका छैनन् ।
जम्मा १२ घरधुरी रहेको यो गाउँमा उनीहरू विगत चालीस वर्ष अघि देखी यहाँ बसोबास गरिरहेका छन्। विकास आउला जीवन सहज होला भन्दाभन्दै लगभग उनीहरूको जुनी बित्न लागि सक्यो । गाउँको नाम जस्तै यो गाउँको विकासलाई पुच्छार अर्थात् अन्तिममा राखिएको छ। 
अहिले स्थानीय नेता कार्यकर्ता स्थानीय विकास भन्दा फोहोर टिपेर सामाजिक सञ्जालमा तस्बिर हालेर लाइक कमेन्टको सस्तो लोकप्रियता तिर लागेका छन् ।
सस्तो लोकपृयतातर्फ लाग्नु भन्दा आफ्ना पीडित जनताको गाउँमा विकास योजना ल्याए अर्थ पूर्ण हुन्थ्यो कि  । कि अझै अन्धो बनेर बस्ने हो । स्थानीयले  जनताले जवाफ  मागेका छन् ।
sindur-pachher-gau-2