धरान : स्थानिय सरकार धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राईको हस्ताक्षरमा जारी बिना शीर्षकको एक वक्तव्य अहिले फेसबुकमा भाइरल भएको छ । वक्तव्यमा कसैलाई सम्बोधन गरिएको छैन । ब्यहोरा पढ्दा नेपाल पत्रकार महासङ्घ सुनसरीलाई लेखिएको पत्र भएको बुझिन्छ ।
महासङ्घको टोलीले वैशाख २४ गते आइतबार मेयर हर्क साम्पाङलाई ३ दिनको अल्टिमेटमा सहित ध्यानाकर्षण पत्र बुझाएको थियो । पत्रमा भनिएको थियो 'पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक गर्न हामी नगरप्रमुखको ध्यानाकर्षण गराउँछौँ ।’
फेसबुकमा राखिएको नगर प्रमुख हर्कराज राईको हस्ताक्षर सहितको पत्रमा ‘स्वतन्त्र पत्रकारिताले मात्रै वस्तुनिष्ठ सामाग्री सम्प्रेषण र प्रसारण गर्न सक्दछ भन्ने कुरामा ‘म’ विश्वस्त छु ।’ साथै पत्रमा भनिएको छ ‘प्रेस स्वतन्त्रताको नाममा जथाभाबी आरोप लगाउने, कसैको चरित्रहत्या गर्ने, अपुष्ट समाचार गरी भ्रम सृजना गर्ने पत्रकारलाई पनि नरहेको जानकारी गराउँदछु ।’
उक्त पत्र, पत्रकार महासङ्घले माग गरेको स्थानिय सरकारको ‘प्रतिबद्धता पत्र’ हो कि होइन भन्ने बारेमा महासङ्घका सुनसरी जिल्ला अध्यक्ष जनकऋषि राईसँग फोन सम्पर्क गर्दा उनले ‘उपमहानगरपालिकाबाट अहिले सम्म पत्रकार महासङ्घलाई कुनै प्रतिबद्धता पत्र प्राप्त नभएको’ बताए ।
अध्यक्ष राईका अनुसार महासङ्घले मेयर साम्पाङलाई वैशाख २४ गते बुझाएको ध्यानाकर्षण पत्रको ३ दिने अल्टिमेटम बुधवार सकिँदै छ । पत्र बुझाउँदा मेयर साम्पाङले मौखिक रूपमा दुई दिनमै प्रतिबद्धता पत्र बुझाउने बताएपनि महासङ्घको कार्यालयमा उपमहानगरपालिकाको कुनै आधिकारिक पत्र प्राप्त नभएको उनको भनाई छ ।
उनले भने ‘सामाजिक सञ्जालमा आएको कुरालाई महासङ्घले आधिकारिक मान्दैन ।’ उपमहानगरपालिका कार्यपालिकाबाट प्रतिबद्धता सम्बन्धी कुनै पत्र प्राप्त भए त्यसको जानकारी महासङ्घका सदस्यहरू तथा पत्रकारहरूलाई जानकारी गराइने अध्यक्ष राईले बताए ।