धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पटक पटक फोन गरेर आफूलाई हैरान गरेपछि असुरक्षित महसुस गरी आफूले मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालयमा उजुरी दिएको पत्रकार महासङ्घ सुनसरीको पूर्व सभापति वरिष्ठ पत्रकार केशव घिमिरेले बताएका छन् ।

उनको उजुरीको विषयमा आयोगले सुरु गरेको अनुसन्धान कार्यमा सहयोग गर्न नेपाल पत्रकार महासङ्घ सुनसरीलाई पत्राचार गरेको छ । महासङ्घलाई पत्र प्राप्त भएपछि आज बिहीबार महासङ्घ कार्यालयमा वरिष्ठ पत्रकार घिमिरेले उक्त जानकारी दिएका हुन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रममा वैशाख २० गते पूर्व अध्यक्ष घिमिरेले व्यक्त गरेको विचारलाई लिएर मेयर साम्पाङले पहिलो पटक नगर प्रहरीलाई फोन गर्न लगाई ‘तपाईँले बोल्नु भएको बारेमा स्पष्टीकरण दिन मेयर साब समक्ष उपस्थित हुन’ खबर गरेका थिए ।घिमिरेका अनुसार त्यस बेला उनी देखी बाहिर भएकाले आउन नसक्ने बताए । नगर प्रहरीलाई जवाफ दिए लगत्तै मेयर साम्पाङले फोन गरी ‘तपाई काठमाण्डौबाट फर्केपछि कार्यालयमा आउनु होला तपाई सँग केही कुरा बुझ्नु छ’ भनेका थिए ।

घिमिरेका अनुसार त्यसपछि पनि कार्यालयमा उपस्थित हुन फोन गरे । पटक पटक फोन गरे ‘लगत्तै मेयर साम्पाङले फेसबुक पेजमा बयान दिन बोलाएको शैलीमा नगरपालिकामा हाजिर हुन उर्दी गरे जस्तो स्ट्याटस पढेपछि मानसिक यातना भोग्नुका साथै असुरक्षित महसुस गरेको बताए ।

मेयरको स्ट्याटस र त्यसमा उनका समर्थकहरूको गलौजबाट नेपालको संविधानले प्रदान गरेको मौलिक हक, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले प्रदान गरेको भयरहित वातावरणमा सम्मानपूर्वक बाँच्न पाउने मानव अधिकारको हनन भएको जिकिर गर्दै घिमिरेले आयोगमा निवेदन दिएका थिए ।