विराटनगर : नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रवार विराटनगरमा प्रदर्शन गरेको छ।

उक्त पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा सरकारका गृहमन्त्रीलाई खुट्टा नकमाउन भनिएको छ । विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
उनीहरूले अहिलेसम्म गरिएको प्रहरी अनुसन्धान र कारबाही सन्तोषजनक भएकाले जनता साथमा छन् भन्नका खातिर पनि सडकमा आएको बताए । उनीहरूले सरकारले भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेको भन्दै प्रशंसा पनि व्यक्त गरे । 
कोणसभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले नक्कली भुटानी शरणार्थी काण्ड विश्वका सामु शिर निहुराउने खालको एउटा लज्जास्पद घटना भएको बताए । उनले यो घटनामा संलग्न व्यक्ति जतिसुकै ठुलो ओहोदाको भए पनि कारबाही गर्नुपर्नेमा जोड दिए । 
कोणसभालाई उक्त पार्टीका केन्द्रीय सदस्य तथा महानगर कमिटी इन्चार्ज सेवन्तराज भण्डारी, महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव निलम ढुंगेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले सम्बोधन गरेका थिए।