धरान : धरानमा धेरै स्वास्थ्य शिविरहरू हुने गरेका छन् । रोगीहरूका स्वास्थ्य स्थिति र उपचारका लागि हुने त्यस्तो स्वास्थ्य शिविर भन्दा फरक रोग निवारण हुन सकोस् भन्ने मनसायले आत्म, मन र शरीरको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
धरान-१३ वडा कार्यालयको सहयोगमा जेठ १ देखी ७ दिन सम्म वडा कार्यालयमै शिविर सञ्चालन हुनेछ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा शिविर स्वर्गिक मार्ग सङ्घ सुनसरीले आयोजना गर्ने बताइएको छ ।
शिविरका संयोजक खेमराज राईले आमश शिविर (आत्मा, मन, शरीर उपचार शिविर) भएको बताउँदै भने ‘बिरामीहरूले स्वास्थ्य लाभ लिन सकुन र साँच्चिकै रोगीहरूको रोग निवारण हुन सकोस् भन्ने मनसायले शिविरको आयोजना गरिएको हो ।’
स्वर्गिक मार्गकी अध्यक्ष सम्झना राईले शिविरमा  वाटर थेरापी, आइस थेरापी र हिलिङ्ग टच, काउन्सिलिङ्ग समेत ४ प्रकारका उपचार विधि प्रयोग गरिने बताइन । शिविरमा प्यारालाइसिस, ग्यास्ट्रिक, माइग्रेन, उच्च रक्तचाप, युरिक एसिड, खाना नपच्ने, पिनास, ढाडको समस्या, नसा सम्बन्धी, मानसिक रोगको उपचार हुनेछ ।
मेसिन बिना हातले नै उपचार गरिने शिविर स्वास्थ्य शरीर सन्तुष्ट मन यही नै हाम्रो अमूल्य धन भएकाले मानव सेवा र कल्याणमा शिविर केन्द्रित रहेको उनको भनाई छ ।