इटहरी : नेपाली काँग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

सुनसरीको इटहरीमा शनिवार नेपाल ट्रेड युनियन काँग्रेस कोशी प्रदेशको ७ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै नै मजदुर आबद्ध भएकाले उनीहरूको पनि सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए ।

कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकोमा चिन्ता व्यक्त गरे । “संविधानमा हामीले आठ वटा क्लष्टरलाई समेटेका छौँ,” उनले भने, “श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली काँग्रेस गम्भीर छ । तपाईँहरूको सहयोग भएमा आगामी दिनमा पक्कै समेटिनेछ ।”  

त्यस्तै कोइरालाले भुटानी शरणार्थी प्रकरणमा राज्यले नै लागेको घटनाले सबै नेपालीको शिर निहुरिएको बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीहरूको हक अधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताए ।

कार्यक्रममा सुनसरी काँग्रेसका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।