धरान : वीपी प्रतिष्ठानका डाक्टरको लापरबाहीको कारण त्यहाँ उपचार गराई रहेका बिरामीले दुःख पाइरहेको पीडितका आफन्तहरूले आरोप लगाएका छन् । मिर्गौलाका बिरामी धरान-२ का मुकेश अग्रवालको उपचारमा डाक्टरहरूले लापरबाही गरेको उनका आफन्तहरूले शनिवार पत्रकार सम्मेलन गर्दै आरोप लगाएका हुन् ।
मिर्गौलाका बिरामीलाई प्रतिष्ठानका डाक्टरले बारम्बार मुटु र मिर्गौला रोगीको फिस्टुला इम्प्लान्ट गर्ने विषयमा अनावश्यक दुःख दिएको बिरामीका बुवा परमानन्द अग्रवाल, बहिनी पूजा अग्रवालले पत्रकार सम्मेलनमा बताए ।
बहिनी पूजाका अनुसार बिरामी अग्रवाललाई फिस्टुला ईम्प्लान्ट अप्रेसन गर्नका लागि शुक्रवार बोलाइयो तर अप्रेसन थिएटरमा प्रवेश गरेपछि ‘सेरेलोजी टेस्ट' गर्नु भएको रहेनछ हुँदैन’ भन्दै फर्काइको उनले बताइन् ।
उनले भनिन ‘अप्रेसन गर्नु भन्दा अगाडी सेरोलोजी टेस्ट गरेर आउनु भनेर लेखेको थिएन, अर्को हप्ता शुक्रवार आउनु भनेर मात्र लेखेको थियो ।’ टेस्ट गर्नु भनेको भए गरेर जाने थियौ बिना कारण दु:ख दिएको उनको भनाई छ ।
अप्रेसन नभएपछि डाक्टर लोकेश जैसवाललाई फोन गर्दा 'म बिजी छु भ्याइयो भने गर्छु, मेरो काम अप्रेसन गर्ने होइन भनेर जवाफ दिनु भयो ।' डाक्टरको यस्तो गैरजिम्मेवार कुराले सेवाग्राहीलाई सास्ती दिएको अग्रवालले बताइन् । फोन सम्पर्कमा डाक्टरले पेईङबाट गर्दा चाडै हुने भन्दै ओपिडी मार्फत गर्दा २ महिना टाइम लाग्ने बताएका थिए । 
प्रशासनमा गुनासो लिएर जाँदा त्यहीँ भेटिएका डाक्टर जैसवालले सामान्य कुरा गर्दागर्दै ‘म माथि हातपात गर्ने दुर्व्यवहार गर्ने भन्दै तिमिहरूलाई जेल हाल्छु’ भन्दै धम्की दिएको उनले बताइन् । ‘केही नगरी गलत आरोप किन लगाउनु हुन्छ ?’ भनी प्रश्न गर्दा डाक्टर जैसवालले ‘मेरो साथीहरूले बोली हाल्छ नि’ भन्दै गाली बेईज्ती गरेको बताइन् ।
पूजाले दाजुको उपचार चाँडो भन्दा चाँडो हुनु पर्ने माग गर्दै अस्पतालका डाक्टरहरूले सेवाग्राहीलाई दुःख दिन नपाउन भन्दै डाक्टरहरू जिम्मेवारी हुनुपर्ने बताउँदै बिपीमा डाक्टरहरूको बेथिति हट्नुपर्ने माग गरेको छिन ।
घट्नाबारे डा.लोकेश जैसवाललाई सम्पर्क गर्दा उनले भने ‘सेवाग्राहीलाई एक्स्ट्रा सर्भिस दिनुका लागि शुक्रवार टाइम दिएर बोलाएको हो ।’ सोमबार र बुधवार मात्र अप्रेसनको समय रहेको उनले बताए ।
डा.जैसवाल अनुसार बिरामीको चाप धेरै भएकोले गम्भीर प्रकृतिका बिरामीलाई पहिलो प्राथमिकता दिएको हो । उनले भने ‘म मुटुको डाक्टर भएको तर बिरामीको सेवाको लागि फिस्टुला इम्प्लान्टको पनि सेवा दिँदा अग्रवालको टोलीले नै मलाई दुर्व्यवहार गरेका हुन् ।'