धरान : सात वर्षको उमेरमा धरानबाट हराएकी छोरी खोज्दै १८ वर्ष पछि उनकी आमा र दिदीले आज पत्रकार सम्मेलन गर्दै गुहार मागेकी छन् । कान्छी छोरी शोभा अधिकारी २०६२ सालमा हराएकी भए पनि भेटाउने आशामा आमा यशोदा अधिकारी र दिदी सबिना अधिकारीले खोजिदिन गुहार मागेकी हुन् ।

आमा शोभा अधिकारीका अनुसार त्यस बेला बुबा लक्ष्मण अधिकारी र कान्छी छोरी शोभा सँगै बेपत्ता भएका थिए । पछि श्रीमान् काठमान्डुमा गएको भनिए पनि कहाँ थिए थाहा नभएको र उनले छोरी हराएको जानकारी कहिल्यै परिवारलाई नदिएको शोभाले बताइन्।

उनले भनिन् ‘एकै चोटि १८ वर्षपछि श्रीमान् एक्लै धरानमा भेट्दा मात्र छोरी काठमान्डुमा हराएको भनियो ।’ आमा शोभालाई श्रीमान् लक्ष्मणले कुटपिट गरेपछि उनी माइती हिँडेकी थिइन् । त्यसै बेला लक्ष्मण घर जग्गा समेत बेचेर छोरी लिएर घरबाट हिँडेका थिए । 

उनका अनुसार त्यस बेला अढाइ वर्षसम्म धरानमै देखिएको थियो भन्नेसम्म थाहा पाइए पनि त्यसपछि केही थाहा भएन । श्रीमती, जेठी छोरी सविना र छोरालाई सुकुम्वासी बनाएर हिँडेका लक्ष्मण २०७८ साल फागुन ११ गते अकस्मात् भेटिएका थिए । शोभाले भनिन् ‘श्रीमान् धरानमा दाजुको घरमा आइपुगेको थाहा भएर भेट्न जाँदा हुलिया नै पूरै अर्को भएको पाएँ ।’

त्यसै भेटमा छोरीको कुरा गर्दा श्रीमान् लक्ष्मणले बच्चा हराएको जवाफ दिएको शोभाले बताइन् । उनले भनिन् ‘मैले श्रीमान् लाई कसरी कहिले छोरी हराएको भन्ने प्रश्न गर्दा श्रीमानले ‘काठमान्डु थानकोटमा काम गरेर बस्दा हराएको बताए ।’

लक्ष्मणको भनाई उद्धृत गर्दै शोभाले भनिन् ‘मजदुरी काम गर्दै बिहानको खाना बाहिरै खान्थे, बेलुकाको खाना नानीले बनाउँथी र खान्थे, साँझको खाना खाएपछि छिमेकीकोमा टिभी हेर्न जान्छु भनेर हिँडेकी छोरी फर्केर आइनन् ।’

सबैतिर खोजतलास गरे, प्रहरीमा निवेदन दिए, तर छोरीको अत्तोपत्तो पाइएन भनी लक्ष्मणले बताएको शोभाले उल्लेख गरिन् । त्यस बेला बालिका हराएको समाचार पनि आएको, नभेटिएपछि आठ दश दिन त्यतै भौँतारिएको, स्थानीयहरुले घेराउ समेत गरेका बताए । लक्ष्मणले त्यहाँबाट भागेर पशुपति पुगी साधु बाबा सँग काशी बनारस गएको बताए ।

शोभाले भनिन् ‘अठार वर्ष देखी छोरी कस्ती भई होलिन् भनी चिन्ताले सताएको मलाई श्रीमानले मलमपट्टी लगाउनुको सट्टा घाउमा नुन छर्किदियो ।’ जेठाजु केशवप्रसाद अधिकारीले श्रीमानलाई घर लान बारम्बार आग्रह गर्दा पनि आफूले छोरी नल्याए सम्म घर नलाने अडान लिएको शोभाले बताइन् ।

छोरी समेत बेपत्ता बनाएका श्रीमान् लक्ष्मणले अहिले आफूले डोकोमा साग बेचेर कमाएको सम्पत्ति हडप्न अंश मुद्दा गरेका बताइन् । छोरी सविनाले भनिन् ‘अहिले बुबा लक्ष्मण अधिकारी धरानमै रहेको र जालसाजी गरेर अदालतको मुद्दा समेत सफाइ पाएर आमाले डोकोमा साग बोकेर जोडेको घरजग्गा माथि पनि आँखा गाडेको छ ।’

विद्यालयमा पढेको प्रमाण भेटियो

बेपत्ता भएकी शोभा अधिकारी चन्द्रगिरी नगरपालिका नागढुगामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा एक वर्ष पढेको तथ्य फेला परेको छ । धरानबाट बाबु लक्ष्मण अधिकारीले लिएर गएपछि सो विद्यालयमा भर्ना गराएर एक वर्ष सोही विद्यालयमा अध्ययन गरेको पाइएको हो ।

विद्यालयका प्रधानाध्यापक अर्जुन कार्कीले शोभाले कक्षा ४ बाट सो विद्यालयमा पढेको र ५ कक्षाको अन्तिम परीक्षा दिएपछि उनी विद्यालय नै नआएको बताए । उनले कक्षा ५ मा उत्तीर्ण हुँदा शोभाले चौथो स्थान हासिल गरेको बताए ।

प्रधानाध्यापक कार्कीले छोरी बेलुका ८ बजे हराए पनि बाबु लक्ष्मणले आफूहरूलाई विहानमात्र छोरी हराएको कुरा सुनाएको बताए । उनले भने ‘छोरी राति नै हराएकी रहिछन, तर हामीले विहानमात्र थाहा पायौ, हामीले त्यसपछि खोजी कार्यलाई तीव्रता दियौ, नांगडुगामा भएको प्रहरी चौकीमा उजुरी दियौ ।’

उनले बेलुका नै थाहा भएको भए प्रहरीलाई पनि खोजी गर्न सजिलो हुने बताए । उने भने ‘यो ठाउँ अत्यन्तै दुर्गम ठाउँ हो, वरिपरि जङ्गलै जङ्गल छ, राती नै खबर भएको भए खोजतलासमा केही सहज हुन्थ्यो ।’

धरानका लक्ष्मणले छोरी लिएर गएपछि सो ठाउँका स्थानीय हरेराम आचार्यको घरमा गएर बसेको देखिन्छ । यस विषयमा हरेराम आचार्यसँग बुझ्न खोज्दा उनको फोनमा सम्पर्क हुन सकेन ।