वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले आज (जेठ ३ गते बुधवार) आदिवासी किरात राई समुदायको राष्ट्रिय चाड साकेला उभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
उभौली पर्व गत वैशाख २२ गते भएपनि किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति वराहक्षेत्रले बुधवार चक्रघट्टिमा पर्व मनाउने जानकारी सहित माग गरेको र उक्त पर्वको अवसरमा वराहक्षेत्र नगरवासी किरात समुदायका सम्पूर्ण आमाबुबा, दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले बताए ।
प्रमुख प्रशासकीय अधिकृत सिटौलाका अनुसार नगरपालिकाको केन्द्र चक्रघट्टिको साकेला पार्कमा लाग्ने उभौली पर्वको अवसरमा  वराहक्षेत्र नगरपालिकाको सार्वजनिक बिदा घोषणा सम्बन्धी कार्यविधि २०७६ को दफा ३ (१)  बमोजिम स्थानिय बिदा दिइएको हो।
बुधवार वराहक्षेत्र ३ को बिच पानी र वराहक्षेत्र-७ को साकेला पार्कमा उभौली मेला भव्यताका साथ मनाउँदै धार्मिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यले आज बुधवार सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।
बुधवार नगर कार्यपालिका अन्तर्गत शैक्षिक संस्था, विद्यालय, क्याम्पस, वडा कार्यालय लगायतलाई बिदा दिइएको छ ।

Bida-baraha