इटहरी : नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव ढुंगानाले जनताको पक्षमा चित्तबुझ्दो काम नभएको बताएका छन् । ठुला राजनैतिक दलहरू प्रति बितृष्णा बढ्दै गरेको बताउँदै त्यसतर्फ सरकारलाई  सचेत रहन आग्रह गरे ।

जनताले अपेक्षा अनुसार काम नभएको र अझै सुधार गर्नुपर्ने उनले सुनाए । नेपाल प्रेस युनियन सुनसरी शाखाको नवौँ जिल्ला अधिवेशनमा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाली काँग्रेस रहेको बताए ।

अधिवेशनले प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको पक्षमा काम गरोस् भन्ने शुभकामना व्यक्त गरे । काँग्रेसको नेतृत्वमा भएका राम्रा काम दबाउने काम भएको बताउँदै उनले मुलुकमा प्रजातन्त्र र स्वतन्त्रता रक्षा काँग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको उनले बताए ।

काँग्रेस कमजोर बनाउँदा लोकतान्त्रिक प्रणाली कमजोर हुने र प्रेस स्वतन्त्रता कुण्ठित हुने उनले प्रस्ट पारे । लोकतन्त्रको रक्षाको लागि काँग्रेस पार्टी र पत्रकार एकैपटक अग्रसर हुनुपर्ने धारणा राखे । "लोकतन्त्रको पहरेदार प्रेस युनियनको गर्विलो इतिहासमा निखारता ल्याउनुपर्ने बेला भएको छ । पत्रकारको प्रश्न गर्न अधिकार कुण्ठित गर्ने काम हुँदैछ । जब प्रश्न दबाउने खेल हुन्छ त्यसले लोकतन्त्र कमजोर बनाउँछ। ," उनले भने ।