धरान : यसपालिको उभौली साकेला किरात राईका अगुवाहरूले पहिचान विरुद्ध लोकतान्त्रिक प्रक्रिया मिचेर गरिएको कोशी नाम विरुद्ध सङ्घर्ष जारी राख्ने उद्घोष गर्दै समापन गरिएको छ । किरात राई यायोख्खा सुनसरीद्वारा शनिवार आयोजित वृहत् जिल्लाव्यापी साकेला सिली प्रतियोगिता बिच यसपालिको साकेला समापन गरिएको हो ।

यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक प्रसाद राईले भने ‘मुख्यमन्त्री हिक्मत कार्कीले गरेको नामाकरण एकल जाति, कौशिकी ऋषि गोत्रको नामबाट भएकोले कदापि स्वीकार हुँदैन ।’ उनले मानव सभ्यताको विकास पहिचानबाट मात्रै सम्भव भएको बताए ।  

धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले सबिधानले जनताको भावना र मर्म अनुरूप राज्यको नामाकरण गर्न प्रदत्त गरेको अधिकारलाई राज्यका उच्च पद धारण गरेको व्यक्तिले आफ्नो निहित स्वार्थका लागि  नामाकरण गर्न नहुने बताए ।

उनले आदिवासी जनजातिहरूले किरात राज्य माग गर्दै महान् चाडपर्वमा पनि ढोल झ्याम्टा बजाउँदै सांस्कृतिक रूपमा विरोध गर्दै पहिचान खोजेर विद्रोही आवाजलाई राज्यले पूर्ण समर्थन गरेर अगाडी बढ्नुपर्ने बताए । उनले भने ‘प्रदेश सरकारले आदिवासीका भावना सम्बोधन गर्नु पर्छ ।’

धरान-१७ स्थित साकेला पार्कमा भएको साकेला उभौलीको समापनमा यायोक्खा सुनसरी सल्लाहकार अशोक राईले आदिवासीलाई दोस्रो दर्जाको नागरिक बनाएको भन्दै जनजातिको छोराछोरीलाई प्रधानमन्त्री वा देशको प्रमुख जिम्मेवारी पद नदिएको आरोप लगाए । 

उनले आदिवासी सदियौ देखि उत्पिड्नमा परेको तर देश विदेशमा वीर गोर्खाली भनेर चिनाइएको बताउँदै भने ‘किरात प्रदेश प्राप्त नभए सम्म सङ्घर्ष जारी रहने छ ।’ जब सम्म विजय प्राप्त हुँदैन तब सम्म पछि नहट्ने बताउँदै उनले विजय नभए सम्म चाडपर्व मनाउन नसकिने उनको भनाई थियो ।

उक्त अवसरमा किरात राई प्राज्ञिक व्यक्तित्व डा.जीवन कुमार राईलाई सम्मान गरियो । यायोक्खा पूर्व केन्द्रीय अध्यक्ष तिलक राई, केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले किरात राज्यको माग गर्दै  पहिचान सहितको राज्यकोमात्र परिकल्पना गर्न सकिने बताए ।

सभाध्यक्ष यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले उँधौलीपछिको आन्दोलन थप सशक्त भएर जाने बताए । उनले कोशी प्रदेश नामकरणविरुद्ध पहिचानको पक्षमा आहुति दिन परे पनि पछि नहट्ने बताउँदै बताए ।

यायोक्खा प्रदेश अध्यक्ष पारसमणि राई प्रदेश उपाध्यक्ष बलराम राई,  केन्द्रीय सदस्य तथा संरक्षक सचिव नागेशचन्द्र राई लगायत यायोक्खाका अगुवाहरूको उपस्थिति थियो । साकेला प्रतियोगीतामा सुनसरी जिल्लाका प्रारम्भिक समितिको शिलि प्रदर्शन उत्कृष्ट घोषित भएको छ ।

यस्तै सहभागी मध्ये धरान-८ प्रथम, धरान ५ र ६ को संयुक्त टोली दोस्रो र धरान-२० तेस्रो भएको भएको घोषणा गरिएको छ । धरान बाहिरका प्रतियोगी इटहरी १,१९,२०को संयुक्त टोली प्रथम भएका छन् । इटहरी १७,१८ पकली दोस्रो इटहरी ५ र ६ तेस्रो भएको छ ।

उत्कृष्ट सांस्कृतिक झाकी सामग्री प्रदर्शनमा धरान-१५ प्रथम, धरान-१३ दोस्रो र धरान ९ र १०को टोली तेस्रो घोषित भएका छन् । धरान बाहिरबाट इटहरी ५ र ६ को संयुक्त टोली प्रथम, इटहरी वडा १,१९,२० संयुक्त टोली दोस्रो र इटहरी १७ र १८ संयुक्त टोली तेस्रो घोषित भएका छन् ।

sakela-dharan-11