धरान : हवाई जहाजमा काठमान्डु जान लागेकी एक युवतीको भित्र वस्त्रमा लुकाएको कडा लागुऔषध ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

शनिवार विहान यति एयरको बिहान ११ बजेको उडानमा भद्रपुरबाट काठमान्डु जान लागेकी झापा कमल गाउँपालिका-७ घर भई काठमान्डु बस्दै आएकी २६ बर्षीया एन्जल राई १५ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेकी हुन् ।

भद्रपुर बिमानस्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँच गर्दा एन्जलले भित्री वस्त्रमा लुकाई राखेको लागुऔषध प्रहरीले बरामद गरेपछि उनलाई पक्राउ गरिएको हो ।

यसै बिच इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले मेची पुलबाट दुई युवालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुद्धशान्ती गाउँपालिका-१ का २२ वर्षीय समीर दर्जी, मेचीनगर-१ का २१ वर्षीय दिपेश कुमार राजबंशी छन् । उनीहरूबाट प्रहरीले १ ग्राम ब्राउन सुगर बरामद गरेको कोशी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।