इटहरी : नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ प्रदेश १ क्षेत्रीय समितिले लोकप्रियतावाद बारे नयाँ बहस सुरु गरेको छ । काँग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय उदय भएका नयाँ भनिएका पुरातनवादी दलहरू लोकप्रियतावादको लहडले स्थापित हुनुको कार्यकारण सम्बन्ध बारे कार्यक्रममा चर्चा भयो । प्रमुखवक्ता रिजालले सत्ताको धम्की दिनेहरू लोकतान्त्रिक हुन नसक्ने धारणा राखे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखि चीनका राष्ट्रपति सी जिङ पिङ समेत लोकप्रियतावादको उपज भएको उनले बताए । पछिल्लो समय लोकप्रियतावाद विश्वव्यापी समस्या बन्दै गएको उनको भनाइ छ । 
"तत्काल के भन्दा मत पाउन सकिन्छ भन्ने विषयमा लोकप्रियतावादी हाबी हुन्छन् । पुरातनवादीहरु लोकप्रियतामा रमाइलो गर्न रुचाउँछन् । त्यहीँ कारण लोकतान्त्रिक प्रणालीहरू कमजोर हुँदै जान्छन् ।,"उनले भने, "लोकप्रियतावादीहरू फरक बिचार सुन्न नसक्ने हुन्छन् । सबैतिर आफ्नै बिचारको व्यक्ति देख्नु, आफूजस्तो मात्र मान्छे र समाज देख्नु यसका लक्षण हुन् ।"
केन्द्रीय सदस्य राजीव ढुङ्गानाले काँग्रेस भित्र खस्किएको मनोबल बढाउने काम गर्नुपर्ने बताए । नेताहरूको आचार व्यवहार बदल्नुपर्ने उनको भनाइ छ । अहिले समाज लोकप्रियताको लहडमा चलेको बताउँदै उनले  पार्टी खोल्न पाइने तर लोकतन्त्र र जनजीविकाका सवालमा सम्झौता गर्न नसकिने धारणा राखे ।
क्षेत्रीय सभापति सुवेक्छु देवानले युक्रेनको राष्ट्रपतिको उदाहरण दिँदै नेपालमा पनि कलाकारिताको लोकप्रियता बाट लोकतन्त्रमा हमला भएको बताए । पछिल्लो समय उदय भएका पार्टीको सैद्धान्तिक धरातल र वैचारिक अवस्थाको विषयमा कुरा उठाए ।  कार्यक्रममा काँग्रेसको इतिहास समेटिएको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।