इटहरी : कोशी प्रदेश सरकारले नामाङ्कनको विषयमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।
सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले विज्ञप्ति जारी गर्दै पहिचानवादी आन्दोलनकारीलाई वार्ताको लागि आव्हान गरेको हो ।
प्रदेशको नाम कोशी राखेपछि पहिचानवादी दल तथा संस्थाहरू आन्दोलनमा होमिएका छन् । २०७९ फाल्गुन १६ मा प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि पहिचानवादीहरू आन्दोलनमा होमिएका हुन्।
पुनः नामकरणको माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरूले प्रदेशका मन्त्री तथा सांसदलाई गृह जिल्ला प्रवेशमै समस्या सृजना गरेका थिए । गत आइतबारको प्रदेशसभा बैठकका दिन पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन गरेका थिए । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि पहिचानवादीले आन्दोलन चर्काएका थिए ।
आन्दोलनबाट दर्जन बढी प्रहरी र आन्दोलनकारी घाइते भए । प्रदर्शनको क्रममा आगजनी र तोडफोड भएपछि सरकार लचक भएको हो । प्रवक्ता सिटौलाद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउने उल्लेख गरिएको छ ।
‘नामकरणको बारेमा रहेका आफ्ना विमतिहरूलाई शान्तिपूर्ण रूपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरूलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
bhakti-PR