धरान : बराहक्षेत्र नगरपालिकामा रहेका क्रियाशील पत्रकारहरूले ग्रामीण पत्रकारीताकलाई प्रवर्द्धन गर्न स्थापना भएको ग्रामीण पत्रकार समूहको विवाद मिलेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य भीषण राईले सहमतिको लागि सहजीकरण गरेका हुन।

समूहका पत्रकारहरूको बुधवार भएको भेलाले ‘कोशी सम्मान’ पत्रिकाका सम्पादक/प्रकाशक हिरण्य कार्कीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । उनको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत गठन भएको हो ।

समितिका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ अर्जुन, सचिव सुविन विश्वकर्मा, सह-सचिव सुदन गुरागाईँ, कोषाध्यक्ष गङ्गा भट्टराई र सदस्यहरू राजन घिमिरे, सिर्जना थापा रहेका छन् ।

सहमतीय कार्यसमिति बनाउन पत्रकार महासङ्घ केन्द्रीय सदस्य भीषण राईको संयोजनमा ६ जनाको निर्वाचन समिति बनेको थियो । सदस्यहरू छविना लुङ्गेली मगर, विजयकुमार राउत, नवराज विष्ट, बाबुराम कार्की, अच्युत भट्टराई थिए ।

करिब ५ महिना अघि भएको समूहको चौथो अधिवेशनमा कार्यसमिति निर्वाचनमा विवाद भएपछि अहिले सम्म चयन हुन सकेको थिएन । ग्रामीण पत्रकारिता प्रोत्साहित गर्न, उनीहरूको क्षमता र वृत्ति विकासका काम गर्न २०७६ सालमा समूह गठन भएको हो ।