विराटनगर : विराट राजाको दरबार क्षेत्रलाई विराटनगर महानगरपालिकाको योजना अनुसार पर्यटकिय स्थल बनाउन निर्माण कार्य धमाधम भइरहेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा विराटराजाको दरबार क्षेत्रका लागि कुल १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

धार्मिक, सांस्कृतिक महत्त्वको दरबारस्थलमा रहेको किचकबध पोखरी, रानीपोखरी र मन्ठापोखरीको पुननिर्माणसँगै सौन्दर्यीकरणको निर्माण कार्य भइरहेको छ ।

निर्माण कम्पनी देवी छिन्नमस्ता कन्स्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपैयाँमा ठेक्का लिएको उक्त कार्यको महानगरपालिका मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा उनले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूला योजनाहरू सञ्चालन गरिरहेको मेयर कोइरालाले बताए ।

दरबारसहित तीनवटै पोखरीको निर्माण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने उनको भनाई छ । उनले भने ‘यो ठाउँ १६ करोड जनसङ्ख्या भएको बिहारसँग जोडिएको क्षेत्र भएकाले पर्यटनको प्रचुर सम्भावना छ ।’

स्थानीय नित्यान्द यादवले महानगरको हालको नेतृत्वले अत्यन्तै राम्रो काम गरिरहेको बताए । उनले भने ‘महानगरपालिका भित्र भएर पनि विगतमा विभेद भएको थियो । अहिले दक्षिणी क्षेत्रलाई निकै माया गरेको महसुस गरेका छौँ ।’

निर्माण कम्पनीका रञ्जित झाले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी रातदिन नभनिकन काम भइरहेको दाबी गरे । पोखरीको पर्खाल सकिएको छ । वरिपरि प्यारापिट, आकर्षक बगैँचा, फूलबारी, विश्रामस्थल, कटेज, कलात्मक प्रवेशद्वारका काम हुनेछ ।