इटहरी : उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले खुल्ला व्यायामशालाको उद्घाटन गरेका छन् । इटहरी-१६ स्थित बालग्राम टोलमा आयोजित एक कार्यक्रम बिच नगर प्रमुख पौडेलले इटहरी उपमहानगरपालिका र स्थानीय बासिको लागत साझेदारीमा १२ लाख २३ हजार ३ सय २९ रुपैयाँ ३ पैसाको लागतमा निर्मित खुल्ला व्यायामशालाको उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पौडेलले स्वास्थ्य भन्दा ठुलो सम्पत्ति अरू केही नभएको उल्लेख गर्दै स्थानीय सरकारले इटहरीका सबै वडामा खुल्ला व्यायामशाला निर्माण गर्ने उपमहानगरको नीति अनुरूप चालू आर्थिक वर्षमा ५ वटा व्यायामशाला निर्माण गरिरहेको र आगामी आर्थिक वर्षमा बजेटमै व्यवस्था गरी थप २५ वटा खुल्ला व्यायामशाला निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरे ।

जनताको सहभागिता बिना स्थानीय सरकारले केही गर्न नसक्ने उल्लेख गर्दै मेयर पौडेलले दिगो विकासका लागि विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता अपरिहार्य रहेको भन्दै मेयर पौडेलले व्यायामशाला निर्माण लगायतका विकास निर्माणका कार्यहरूमा वडावासीको सक्रिय सहभागीताको लागि धन्यवाद समेत ज्ञापन गरे ।

कार्यक्रममा इटहरी-१६ का वडाध्यक्ष तेजनारायण चौधरी,कार्यपालिका सदस्य प्रमोद शेर्पा लगायत बालग्राम टोल विकास संस्थाका अध्यक्ष लगायत पदाधिकारीहरूले समेत आफ्नो धारणा राखेका थिए ।