धरान : धनकुटा धरान एकता समाजको आज शनिवार भएको प्रथम साधारण सभा तथा अधिवेशनले अध्यक्षमा गङ्गाप्रसाद रेग्मीलाई सर्वसम्म चयन गरेको छ । उनी यसअघि तदर्थ समितिका अध्यक्ष थिए ।

धनकुटा थातथलो भई धरानमा बसोबास गर्दै आएका धनकुटेलीहरु बिच आपसी सद्भाव बढाउँदै सामाजिक सेवाका कार्य गर्न गत वर्ष समाजको गठन भएको थियो । तदर्थ समितिको रूपमा रहेको समितिले अधिवेशनबाट पुरा कार्यकालका लागि पूर्णता पाएको हो ।

सर्वसम्मतबाट चयन भएको कार्यसमितिमा उपाध्यक्ष जयप्रसाद निरौला, सचिव राजकुमार थापा, सहसचिव नवीन रेग्मी, कोषाध्यक्ष गौरी याख्खा चयन भएका छन् ।

सदस्यहरू श्याम कार्की, विनोद घिमिरे, पूजा कर्माचार्य, राजेशमान श्रेष्ठ, दलबहादुर परियार छन् । ११ सदस्यीय समितिमा थप एक सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।

पब्लिक हाई स्कुलको हलमा भएको अधिवेशन भाषाविद् प्राडा टङ्क न्यौपानेले उद्घाटन गरे । प्रमुख अतिथि न्यौपानेले अन्तर जिल्ला सामाजिक संस्थाहरूलाई राजनीतिक कुराबाट अलग राख्न सके महत्त्वपूर्ण कार्यहरू गर्न सकिने बताए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले धनकुटेलीहरु कृषक र उद्यमी पृष्ठभूमिका भएकाले समाजले उद्यम, व्यवसायमा प्रोत्साहित हुने कार्यहरू गर्न सुझाव दिए ।

डा.आनन्द आचार्य, रेडक्रस सुनसरी अध्यक्ष उमेश थापा, समाजसेवी वीरेन्द्रसिंह थापा, प्रधानाध्यापक इन्द्र मोहन झाले समाजले शिक्षा, स्वास्थ्य, उद्धार कार्य लगायतको क्षेत्रमा कार्य गर्नु पर्ने सुझाव दिए ।

साधारण सभामा सचिव राजकुमार थापाले तदर्थ समिति रहेका अवस्थामा पनि समाजले स्वास्थ्य शिविर गरेको, समाजको महत्त्वका बारेमा प्रकाश पार्दै प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष वासुदेव भण्डारीले समाजको स्थापनाका लागि भएका गतिविधिका हिसाब, सदस्यताको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार अहिले सम्म समाजको ११८ आविजन र २ जना संरक्षक सदस्य रहेका छन् ।

अधिवेशनमा समितिकी सल्लाहकार श्यामा रेग्मीको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति निर्वाचित भएको घोषणा गरेको थियो ।